Home / समाचार / निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने प्रस्ताव

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने प्रस्ताव

Nijgadh-airport-445x300
काठमाडौं: बाराको निजढमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने प्रस्ताव अगाडि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यो विमानस्थल नेपालीकै लगानी र नेपाल सरकार आफैले निर्माण गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताए भन्दै अन्नपुर्ण पोष्टले चैत्र २१ आईतवार लेखेको छ।
यो विमानस्थ निर्माण स्वदेशी पुँजीबाट निर्माण गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको हो। यसबारे मन्त्रिपरिषद् बैठकको छलफलमा आइसकेको जानकारी पोखरेलले दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल एक खर्ब २१ अर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरिसकेको छ। यसैलाई आधार मानेर नेपाल सरकारले विमानस्थल निर्माणको काम अगाडि बढाउने जानकारी मन्त्री पोखरेलले दिएका छन्।
विमानस्थल अत्याधुनिक सुविधा सम्पन्न हुने भए पनि तत्कालका लागि एउटा धावनमार्ग र टर्मिनल भवन बनाएर सञ्चालन गर्न सकिन्छ। सरकारले दुईवटा धावनमार्गकै विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरेर राख्ने र आवश्यक पर्दा प्रयोग गर्न सकिने मन्त्रीले जानकारी दिए। मन्त्री पोखरेलका अनुसार विदेशी सहयोग र ऋण लिएर भए पनि नेपाल सरकार आफैले विमानस्थल निर्माणको नेतृत्व गर्नुपर्छ।
यो विमानस्थल निर्माण गर्न कोरियाली कम्पनी ल्यान्ड मार्क वल्र्डवाइड (एलएमडब्लू)ले सन् २०१० मा नै विस्तृत सम्भाव्यता अध्ययन गरेर पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। यो विमानस्थल निर्माण गर्ने जिम्मा ल्यान्ड मार्कलाई नदिए अध्ययन प्रतिवेदन तयार पार्दा लागेको ३६ मिलियन अमेरिकी डलर नेपाल सरकारले व्यहोनुपर्ने प्रस्तावमा उल्लेख छ। नेपाल सरकार भने यो अध्ययन प्रतिवेदन नखोल्ने र पैसा पनि नतिर्ने र आफैं सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने तयारी गरेको मन्त्रालयको भनाइ छ।
विमानस्थल निर्माण गर्न अहिले मुआब्जा दिन स्वीकृति दिने तयारीमा नेपाल सरकार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना निर्देशक देवचन्द्रलाल कर्णले बताए। उनका अनुसार विमानस्थललाई आवश्यक १२ हजार बिघा जग्गामा चारकिल्ला गाड्ने र जग्गाको नापजाँच गर्ने काम सकिएको छ। अब, सरकारले स्वीकृति दिएमा यही चैतभित्रमै जग्गा अधिग्रहणको लागि मुआब्जा वितारणको सूचना निकाल्ने जानकारी पनि कर्णले दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल एक खर्ब २१ अर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरिसकेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यालयका अुनसार यो विमानस्थल निर्माण गर्न ११ हजार ८७ विगाहा जग्गा आवश्यक पर्छ । यसका लागि एक सय १२ बिघा निजी र बाँकी सरकारी ऐलानी जग्गा पर्छ। विमानस्थल निर्माण गर्न टाङ्गीया बस्तीमा रहेको १४ सय घुरीलाई स्थानान्तरण गर्नुपर्छ भने करिब ९० प्रतिशत सरकारी जग्गामा रहेको वन विनाश गर्नुपर्छ।
विमानस्थल निर्माण गर्न सरकारले कसरी निर्माण गर्ने, स्रोतको व्यवस्था कसरी गर्ने र कति समय लगाउने सहितका विषयलाई समेटेर विमानस्थल निर्माणको मोडालिटी तयार पार्नुपर्ने कर्णको बुझाइ छ।करिब १८ वर्षदेखि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिए पनि यसले अझै मूर्तरूप लिन सकेको छैन।
विमानस्थल निर्माणको विषयमा अहिलेसम्म जति हल्ला भयो त्यो अनुसार काम भने हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।
बाराको गढीमाइ नगरपालिकाको १६ नंम्बर वडामा केन्द्रित यो विमानस्थल निर्माण ८० वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने भएको छ।
यो विमानस्थल निर्माण पश्चात काठमाडौं विमानस्थलको विकल्प तयार हुन्छ । काठमाडौंको विकल्प भनेर अध्ययन सुरु भएकोले नै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिएको हो। नेपालबाट ठूला विमान (वाइडबडी)को उडान तथा अवतणर हुने, नेपालले आकास बेचेरै लाभ लिनसक्ने, सीधै युरोप तथा अमेरिकामा उडान हुने, विश्वसँगको हवाई पहुँच बढ्न, तथा ट्रान्जिट गन्तव्यका रूपमा नेपाललाई विकास गर्न सकिनेसहितको लाभ हुने उल्लेख छ। विमानस्थल निर्माण गर्न पाँच वर्ष अगाडि नै एलएमडब्लूले तीन चरणमा विमानस्थल निर्माण गर्न सकिने सम्भाव्यताको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
यो विमास्थलको पहिलो चरणको काम पूरा गर्न नै ६५ करोड डलर लाग्ने अनुमान एलएमडब्लूको छ। दोस्रो चरणमा २५ करोड र अन्तिम चरणमा अर्को एक अर्ब डलर खर्च हुने प्रतिवेदनमा उल्लेख छ । विमानस्थलको क्षेत्रफल तीन हजार हेक्टर रहनेछ।
यसमध्ये दुई हजार हेक्टरमा विमानस्थल र एक हजार हेक्टरमा एयरपोर्ट सिटी हुने उल्लेख छ। विमानस्थल निर्माण सुरु गरेको चार वर्षमा नै पहिलो चरणको काम पूरा भएर विमानस्थल सञ्चालनमा आउन सक्ने एलएमडब्लूको प्रस्ताव भए पनि यो प्रतिवेदन मन्त्रालयमा नै थन्किएको छ।
एलएमडब्लूको प्रतिवेदनले विमानस्थलमा दुइटा धावनमार्ग हुने उल्लेख छ । विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । पहिलो चरणमा ३४ हजार र पूर्णक्षमतामा चार लाख जहाज उडान-अवतरण हुन सक्ने क्षमता यो विमानस्थल हुनेछ । तीन हजार ६ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको दुईवटा छुट्टाछुट्टै धावनमार्ग बनाउने अवधारणा छ।
राजधानीबाट ८० किलोमिटर दुरीमा रहने विमानस्थल सञ्चालनमा आउनु ६ महिनाअघि काठमाडौं-तराई द्रुतमार्ग अनिवार्य रूपमा सञ्चालनमा आइसक्नुपर्ने ल्यान्डमार्कको प्रतिवेदनमा उल्लेख छ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com