Breaking News
Home / स्थानिय समाचार / निजगढमा लगातारको वर्षाले खुशी र चिन्ता

निजगढमा लगातारको वर्षाले खुशी र चिन्ता

women working on nijgadh land for rice in nepal

जितलाल श्रेष्ठ , निजगढ, १५ साउन
भारी वर्षाका कारण खोलामा भेलबाढी आएपछि किनारका जमीन कटान भएका छन् ।
चुरे फेदको निजगढ नगरपालिकाको डमरपुर, भक्तलाल, रामथली, बारथली, बुङजोर, लाल, भरतगंजसिगौलमा धन्सार खोलाले अहिले स्थानीयहरूलाई अत्याइरहेको छ । चुरे फेदस्थित खोला किनार आसपासका कान्ला जमीनलाई स्काभेटरको प्रयोगले सम्याउँदै बस्ती बस्ने र खेतीपाती लगाउनेहरूको होडबाजी चलेको छ । जसका कारण वर्षायाममा खोलाको पानी बस्तीमा पस्ने सम्भावना प्रबल देखिएको स्थानीय समाजसेवी ओमबहादुर भण्डारी र मानबहादुर लामाले बताए । अहिले परेको पानी पाँच/सात वर्षयताकै ठुलो भएको र खेतीपातीका लागि उत्तम हुने लक्षण देखिएको भण्डारीले बताए । तर बाढी बस्तीमा पस्ने हो कि भन्ने चिन्ताले सिगौलवासीलाई सताएको छ । आकाशे वर्षाले यसपालि पानीको लागि वनवारि जान नपरेको र पानीको लागि तँछाडमछाड गर्दै झगडा पनि नभएको उनले बताए । यस वर्षको आकाशे पानीले रतनपुरीमा बालीका लागि राम्रो भएको जगजीवन कुमरले बताए ।
जेठदेखि नै फाटफिट्ट पानी परे्कोले वनमा लागेको डढेलो ठुलो क्षेत्रफलमा फैलन नपाउुदा अहिले बस्तीनजिकैको चुरे पहाड, वन हराभरा भएको छ । रतनपुरीमा खेतीयोग्य जमीन लगभग ६ सय बिघा रहेको र राम्रो पानी परेकोले अधिकांश जमीनमा धान रोपाइँ लगायत अन्य बाली लगाइसकिएको छ ।
वर्षायाममा खडेरी पर्दा पानीको विषयलाई लिएर रतनपुरीमा टोलटोलबीच पटकपटक झगडा हुने गरेको थियो । पानी नभएर रोपाई गर्न सकिएन भन्ने कुरा यसपालि सुन्न नपरेको कृषि सम्पर्क कार्यालय निजगढका जेटिए साधुराम खरेलले बताए । यसपालि जमीन पानी अभावमा बाँझो नबस्ने जेटिए खरेलको ठम्याइ छ । निजगढमा करिब ३३ सय बिघा खेतीयोग्य जमीन रहेको खरेलले बताए । कोल्हवीमा पनि यस वर्ष भारी वर्षा भएको स्थानीय राम खनालले बताए । सयौ बिघा खेतमा रोपाई भइसकेको र केही छुटपुट हुनेका लागि पनि समयले साथ दिएको स्थानीय धनीशड्ढर साहले बताए । त्यसैगरी वर्षाले यसपालि राम्रो साथ दिएको बारा कोर्चवाका युवा किसान रामएकबाल यादवले बताए । पानी अभावमा यहाँ कहींकतै खेतबारी बाँझो देखिंदैन । वर्षाका कारण सडक, बाटो भने हिलाम्य भएकाले आवतजावतमा स्थानीयलाई समस्या रहेको अर्का स्थानीय रामबाबु यादवले थपे ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com