Breaking News
Home / भिडियो / म्यादी प्रहरीको चुनावी सुरक्षाको तयारी (भिडियो सहित )

म्यादी प्रहरीको चुनावी सुरक्षाको तयारी (भिडियो सहित )

वैशाख ११, २०७४- ४५ वर्षीया चुँडादेवी भट्टराई विडारी म्यादी प्रहरीमा छनोट मात्र भइनन्, तालिममा पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । जावलाखेलस्थित फुटबल मैदानमा तालिम लिइरहेकी उनको खुमलटारमा घर छ, परिवारका सबै सदस्य जागिरे छन् । आर्थिक अवस्था सबल छ । तर पनि म्यादी प्रहरी हुन आएकी उनी भन्छिन्, ‘सानै उमेरदेखि प्रहरीमा जागिर खाएर मुलुकको सेवा गर्ने धोको थियो । त्यही पूरा गर्न म्यादीमा आएँ ।’

तालिममा निरन्तर खटिइरहेकी उनले थपिन्, ‘निर्वाचन सफलतापूवर्क सम्पन्न गराउन सुरक्षाको जिम्मेवारी निभाउनुपर्छ, मतदान केन्द्रमा सुरक्षा दिन कमान्डमा कसरी काम गर्ने भन्ने सिकिरहेकी छु ।’
सिन्धुपाल्चोककी इन्दिरा पराजुली रिमाल म्यादी प्रहरीको तालिममा निरन्तर सहभागी छिन् । पाटन क्याम्पसबाट एमए दोस्रो वर्षको परीक्षा दिएर बसेकी उनले सुरक्षासम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक कुरा सिकिरहेको बताइन् । ‘परीक्षापछि फुर्सदमा थिएँ,’ उनले भनिन्, ‘आम्दानी पनि, मुलुकको सेवा पनि दुवै हुने देखेर म्यादीमा आएँ ।’
झापाका कुलप्रसाद मिश्रले तालिममा रमाइलो भइरहेको बताए । ‘इन्चार्जहरूले रोचक ढंगबाट तालिम दिइरहेका छन्,’ उनले भने । महानगरीय प्रहरी परिसर जावलाखेल मातहतमा जिल्लामा ९ सय २ जना म्यादी प्रहरीले तालिम लिइरहेका छन् । जसमध्ये २ सय ८१ महिला छन् । तालिम बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन भइरहेको छ । परिसरका अनुसार महानगरीय प्रहरी वृत्त सातदोबाटो र चापागाउँमा २५०/२५० र जावलाखेलमा ४ सय २ जनाले तालिम लिइरहेका छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी ठूले राईले म्यादी प्रहरीलाई तालिम दिन १५ जना प्रहरी खटाइरहेको जानकारी दिए । ‘चैत ३१ बाट सुरु तालिम वैशाख १३ सम्म चल्नेछ,’ उनले भने, ‘१५/१६ बाट निर्वाचन केन्द्रमा खटाइनेछ ।’ उनले म्यादी प्रहरीलाई शारीरिकसँगै मानसिक रूपमा तयार गराइराखेको बताए । ‘शारीरिकसँगै दैनिक बिहान/दिउँसो डेढ/डेढ घण्टा सैद्धान्तिक कक्षा पनि सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘प्रत्येकलाई एक जना प्रहरी जवानले पाउने बराबरको रासनको व्यवस्था गरेका छौं । उनले म्यादी प्रहरी घाइते या बिरामी भएमा मेडिकल जाँचको पनि व्यवस्था गरिएको बताए ।

चुनावको तयारी अन्तिम चरणमा 
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रजिअ हिमनाथ दवाडीका अनुसार अहिले मतदान केन्द्र निरीक्षणको काम भइरहेको छ ।
काठमाडौंमा ३२० निर्वाचन केन्द्र छन् । १० मध्ये ५ नगरपालिकामा रहेका मतदान केन्द्रको निरीक्षण भइसकेको प्रजिअ दवाडीले बताए । अब १ महानगर तथा ५ नगरपालिकामा रहेका केन्द्रको निरीक्षण गर्न बाँकी छ ।
प्रजिअ, सुरक्षा निकायका अधिकारीसहितको टोलीले मतदान केन्द्रको सुरक्षा अवस्था, वस्तुस्थिति र सम्भावित जोखिमबारे अध्ययन गरिरहेको छ । ‘निरीक्षणपछि संवेदनशील र कम संवेदनशील मतदान केन्द्र छुटयाइनेछ त्यसैअनुसार सुरक्षा योजना थपघट गरिनेछ,’ कान्तिपुरसँग दवाडीले भने, ‘काठमाडौंका सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको छ । अन्तिम तयारी सकियो ।’

स्रोत : कान्तिपुर

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com