रौतहटको जङगलमा फेला पार्यो प्रहरीले बडालको हाड पूर्व गाबिस अध्यक्ष पनि समातिए

समाचार

272 Views

bhagwan badal  Kidnapped and killed in rautahat of  Nijgadh bara Nepal

प्रहरीले रौतहटको जङलबाट मानव कड्ढाल फेला पारेको छ । उक्त कड्ढाल पाँच हप्ता अघि सोही जङलबाट अपहरणमा परेका निजगढ–८ निवासी भेटनरी पसले ३५ वर्षीय भगवान बरालको भएको प्रहरीको ठम्याइ छ।
पुर्वपश्चिम महेन्द्र राजमार्गको धन्सर खोलाको दक्षिणपट्टि करिब आठ किलोमिटर दूरी तथा सिमरी गाउँको एक किलोमिटर नजिक जङलबाट मानव जलाएको अवशेष प्रहरीले फेला पारेको छ । बडाल अपहरणबारे अनुसन्धान गरिरहेका अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको प्रहरी टोलीले घटनास्थल र मानव हाडखोर फेला पारेको हो । प्रहरी स्रोतका अनुसार घटना स्थलबाट एक थान लोटा, एउटा च्यातेको सर्ट, बियरको एउटा खाली बोतल, बरामद भएको छ ।
बडालको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहट कनकपुर गाविस–४ सिमरीका रावन माझी, निजकी पत्नी फूलमाया माझी, नाम खुल्न नसकेका निजकी आमा, मकवानपुर घर भई ससुराली सिमरी बस्दै आएका प्रमोद माझी, निजकी पत्नी बिना माझी र कटहरिया गाविसका पूर्व अध्यक्ष जादोलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले नियन्त्रणमा लिएका रावन माझीको घरबाट २ लाख रुपियाँ नगद बरामद भएको छ । पक्राउ परेकाहरूको नाम सार्वजनिक गर्दा अनुसन्धान प्रक्रियामा अवरोध पुग्ने भन्दै बाराका प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामनाथ घिमिरेले अनभिज्ञता प्रकट गरे । मान्छे नियन्त्रणमा लिएको र उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताएका छन् । वप्रउ खनाले पनि अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरूको नाम पुष्टि गर्न मानेनन् ।रौतहटको सिमरीबाट पशुको उपचार गरेर निजगढ फर्कंदै गर्दा बडालको अपहरण भएको थियो । अपहरित बडालको मोटरसाइकल सोही ज•लमा प्रहरीले फेला पारेको थियो भने उक्त क्षेत्रमा मानव जलाएको अवशेष तथा हाडहरू पाउनु बडालकै लाश हुन सक्ने वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताए । बडाललाई अपहरणमुक्त गर्न अपहरण भएको केही दिन बडालका परिवारले १० लाख फिरौतीसमेत अपहरणकारी समूहलाई बुझाएको थियो । निजगढकै ५२ वर्षीय भीमलाल श्रेष्ठ र इन्द्रलाल चौलागाई पनि सोही जङलबाट अपहृत भएको एक वर्ष बितिसकेको छ । अहिलेसम्म उनीहरूको अत्तोपत्तो छैन ।
अपहरण र बेपत्ता घटनाले सो क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारण त्रासपूर्ण वातावरणमा जीवन व्यतीत गरिरहेको बारा उद्योग वाणिज्य सङ्घ निजगढ शाखाका उपाध्यक्ष एवं शान्ति सुरक्षा सरोकार समूहका संयोजक मुकुन्दराज लामिछानेले बताए ।
निजगढका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले घटनाको ९० प्रतिशत सफलता प्रहरीले हात पारिसकेको र चाँडै अपहरणकारीहरूलाई कानुनी कारबाईमा ल्याउने दाबी गरे ।
माझीको बयानको आधारमा प्रहरीले बडाल अपहरण काण्डबारे अनुसन्धान अगाडि बढाएको थियो । फेला परेको मानव कड्ढालको टुक्रा डिएनए परीक्षणका लागि नास्टमा पठाइएको प्रहरीले जनाएको छ ।