You are here
Home > खेलकुद > एफसी पोताला हेटौंडाले लग्यो निजगढ गोल्डकपको उपाधि

एफसी पोताला हेटौंडाले लग्यो निजगढ गोल्डकपको उपाधि

49 Views

nijgadhgoldcup

निजगढमा सञ्चालित शहीद हीरालाल गौतम स्मृति दोस्रो निजगढ गोल्डकप फूटबल प्रतियोगिताको उपाधि एफसी पोताला हेटौंडाले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा युवा जागरण क्लब चपुर रौतहटलाई ० का विरुद्ध १ गोल गरी एफसी पोताला हेटौंडा विजयी भएको हो । खेलको ३६ औं मिनेटमा जर्सी नं. ३२ का रवि पासवानको पासलाई जर्सी नं. १२ का रञ्जन विष्टले डिबक्सभित्रबाट प्रहार गरेको बल आकर्षक गोलमा परिणत भएको थियो । खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो ।
उपविजेता टिम युवा जागरण क्लब चपुर रौतहटका खेलाडीले पटकपटक पाएको बललाई सही सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।
फाइनल खेलमा उत्कृष्ट गोलरक्षक युवा जागरण क्लब चपुरका मिलन लामा, उत्कृष्ट रक्षक पोतालाका मनोज श्रेष्ठ, उत्कृष्ट फरवार्ड पोतालाका अमिर श्रेष्ठ, सर्वाधिक गोलकर्ता युवा जागरणका ज·वीर कुँवर, उत्कृष्ट मिडफिल्डर कृष्ण थापा, उत्कृष्ट प्रशिक्षक पोतालाका लक्ष्मण थापा घोषित भए ।
आजको फाइनल खेलको म्यान अफ द म्याच विजेता टिम एफसी पोताला हेटौंडाका रञ्जन विष्ट घोषित भए । सर्वोत्कृष्ट खेलाडीमा विजेता टिमकै गोलरक्षक आकाश बराल घोषित भए ।
फाइनल खेलका प्रमुख अतिथि नेपाल खेलकुद महासङ्घका केन्द्रीय कार्यवाहक अध्यक्ष केशव विष्ट थिए । प्रमुख अतिथि विष्टले खेल र खेलकुदलाई अतिरिक्त पाठ्य सामग्रीको रूपमा शिक्षामा लागू गर्नुपर्ने धारणा व्यक्त गरे । निजगढ नगरपालिकाका प्रमुख एवं कार्यक्रमका विशिष्ट अतिथि विमलकुमार पोखरेलले निजगढमा खेलकुद मैदान बनाउन नगरपालिकाले यथासक्दो चाँडै प्रक्रिया थाल्ने बताए ।
समापन कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टीलका सञ्चालक एवं विशिष्ट अतिथि पवनबाबू अग्रवाल, युवा नेता एवं व्यवसायी शम्भुबहादुर बुढाथोकी, निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, समाजसेवी एकबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँ र दोस्रो टिमलाई २५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरियो  ।
त्यसैगरी शनिवार भएको मैत्रीपूर्ण खेलमा सहभागी र विजेता टिमलाई समेत मायाको चिनो वितरण गरियो ।         आयोजक एवं निजगढ युनाइटेड क्लबका अध्यक्ष निर्मल लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मोती रानामगर र सञ्चालन सहदेव गौतमले गरेका थिए ।

 

Top