You are here
Home > शिक्षा > निजगढ र त्रिभुवन विमानस्थलको काम एकसाथ सुरु

निजगढ र त्रिभुवन विमानस्थलको काम एकसाथ सुरु

27 Views

लगानी बोर्ड र पर्यटन मन्त्रालयबीचको अधिकारक्षेत्रको विवादका कारण शुरु हुन नसकेको बहुप्रतीक्षित निजगढ विमानस्थलको निर्माण कार्य एउटा उच्चस्तरीय समिति बनेपछि अगाडि बढाउन बाटो खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम पनि नागरिक उड्डयन प्राधिकरणसँगको यस्तै विवादका कारण रोकिदै आएकोमा अब दुवै विमानस्थलको काम सँगसँगै अगाडि बढ्ने लगानी बोर्डले जनाएको छ।

करिब तीन वर्षअघि मन्त्रिपरिषद्ले निर्णय गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि काम अघि बढाउन लगानी बोर्डलाई अधिकार दिएपनि पर्यटन मन्त्रालयले उक्त काम आफ्नो अधिकारक्षेत्रभित्र पर्ने बताएपछि अन्योल उत्पन्न भएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि पनि नागरिक उड्डयन प्राधिकरणसँग अधिकारक्षेत्रको विवाद भएपछि काम रोकिदै आएको थियो।

समिति

तर सोमबार लगानी बोर्डको बैठकले दुवै विमानस्थलको काम सँगसँगै अगाडी बढाउने गरी उच्चस्तरीय समिति गठन गरेपछि निर्माण कार्यले गति लिने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए।

उनले भने, “पर्यटन मन्त्रीको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष, सम्बन्धित मन्त्रालयका सचिवहरु, नागरिक उड्डयन प्राधिकरणका प्रमुख र म समेत मिलेर एउटा समिति पनि बन्यो, त्रिभुवन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दुवैलाई अगाडि बढाउने गरी काम गर्ने भन्ने कुरा छ।”

तीन चरणमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि ६ देखि ७ खर्ब रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

दुवै विमानस्थलको कामलाई अघि बढाउन केही दिनमै अध्ययन शुरु गरिने पन्तले बताए।

अध्ययन

“मलाई लाग्छ दुई चार दिनमै यो शुरु हुन्छ, यसको अध्ययन कोही अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरीसकेकाहरुले नै गर्नुपर्छ, विदेशबाटै ल्याउनुपर्छ भन्ने हामीलाई लागेको छ,” पन्तले बताए।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नहुँदा आपतकालीन अवस्थामा तथा हवाइ उडानको चाप व्यवस्थापनमा अप्ठ्याराहरु उत्पन्न भएका थिए।

लामो समययता अवरुद्ध निजगढ विमानस्थलको निर्माण कार्य अघि बढ्ने भएपछि त्यस्ता अप्ठ्याराहरु अबका केही वर्षमा अन्त्य हुने विश्वास अधिकारीहरुले लिएका छन्।

Top