के भन्छन निजगढ बासी अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक बारे

स्थानिय समाचार

428 Views

टाँगिया बस्तीका ४५ वर्षीय सामाजिक अगुवासमेत रहेका टाँगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटा निजगढमा राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णय सुनेर निकै उत्साही र खुसी थिए । उनको दैनिकी विमानस्थल बन्नेबारे चर्चा गर्दैमा बित्थ्यो । विमानस्थलबाट हुने फाइदा/ बेफाइदाबारे उनी धेरैसित दिनहुँ भलाकुसारी गर्थे । अचेल उनी उक्त आयोजनाबारे गफिन चाहँदैनन् । ‘कति चर्चा मात्र सुन्ने/सुनाउने ? काम गरेर देखाउनुपर्‍यो,’ उनी दिक्दार मान्छन्, ‘१५ वर्षदेखि चर्चाबाहेक केही भएको छैन ।’ धरै चर्चाले उत्साह घट्न थालेकाले चाँडै काम सुरु गर्न उनले सरकारलाई सुझाए । उनीजस्तै यस क्षेत्रका राजनीतिकर्मी, उद्योगी व्यवसायीलगायत सर्वसाधारणले विमानस्थलको कार्य छिटो सुरु गर्न सरकारसित आग्रह गरेका छन् । ‘सरकारले आस मात्र देखाउने गरेको छ,’ टाँगिया सरकोकार समितिका सचिव सुमन थोकर भन्छन्, ‘फेरि तारबार लगाउने चर्चा चलेको छ । तर चार किल्ला प्रमाणित नभएसम्म कसरी तारबार हुन्छ ?’ निर्माण कार्यमा भइरहेको ढिलासुस्तीको विरोधमा मध्य तराई, निजगढ, टाँगिया बस्ती सरोकार समिति लगायतकाले पटक पटक प्रदर्शन गर्दा सरकारले बेवस्ता गरेको उनीहरूको गुनासो छ । गत मंसिर २५ मा बारा, पर्सा र रौतहटका सभासदहरूको वीरगन्जमा भएको बैठकले यस क्षेत्रको विकासका लागि विमानस्थल निर्माणमा पहल गर्ने निर्णय गरेका थिए । सरकारी निकायबीच समन्वय हुन नसक्दा र नीतिगत अन्योलताका कारण यो आयोजनाको निर्माणकार्य अघि बढ्न सकेको छैन । विमानस्थल निर्माणका लागि आर्थिक वर्ष ०६७/०६८ देखि हालसम्म सरकारले डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको र चालू आर्थिक वर्षमा मात्र ५० करोड रुपैयाँ छुट्याएको छ । ‘जनस्तरबाट दबाब दिन प्रदर्शन गर्दागर्दै थाक्यौं, सरकारी चर्चाले आजित भइसकेका छौं,’ निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले भने, ‘आयोजना निर्माण कार्य थालनी नभएसम्म दबाब जारी रहन्छ ।’ क्षेत्र ६ का सभासद एवं युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विमानस्थलको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भए पनि नीतिगत निर्णयमा समस्या भएकाले निर्माण कार्य सुरु हुन नसकेको बताए । कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले तयार पारेको प्रतिवेदनमा ८ किमि लामो र ५ किमि चौडाइको विमानस्थलको धावनमार्गका लागि बाराको निजगढस्थित टाँगिया बस्तीमा १०/८ किमि लम्बाईको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । नीतिगत निर्णयको अभावमा चार किल्ला छुट्याउन नसकिँदा जग्गा अधिग्रहण र बस्ती व्यवस्थापनका लागि सरकारले यस वर्ष छुट्याएको बजेट खर्च पनि हुन सकेको छैन । ल्यान्डमार्कको अध्ययनअनुसार दुई चरणमा पूरा हुने विमास्थल निर्माणमा करिब डेढ खर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । सरकारले ढिलासुस्तीसँगै निर्माणकार्यमा लागत पनि वृद्धि हुने देखिएको छ । ‘जग्गा अधिग्रहण गर्न चार किल्ला प्रमाणित गर्न सरकारले नापी विभागलाई निर्देशन गरिसकेको छ,’ विमानस्थल आयोजना प्रमुख निर्देशक वकिल चिमोरियाले भने, ‘वातावरणीय र सामाजिक प्रभाव मूल्यांकन जाँच्ने प्रक्रियासमेत सुरु भएको छ । काम गर्न प्राविधिक र प्रारम्भिक बजेटसहित सिमरा विमानस्थलमा मुकाम खडा गरी अर्को सातादेखि कार्य सुरु हुन्छ ।’ १२ हजार बिघाको चार किल्ला प्रमाणित गर्नुपर्ने उनले बताए । पुनर्वास चुनौती विमानस्थल मुख्य केन्द्र गढीमाई नगरपालिका १६ को टाँगिया बस्ती हो । यहाँ १४ सय घर धुरीमा झन्डै ६ हजारको बसोबास छ । बाँकीमा घना जंगल छ । वरिपरि कोल्हवी नगरपालिका अन्तर्गतको ककडी प्रसौना, सपहीलगायत निजगढ छेउसम्मको भाग ओगट्नेछ । ठूला र घना बस्ती भएकाले व्यवस्थित ढंगले सार्न चुनौती छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बस्ती सर्ने भएपछि जंगलभित्र रहेको टाँगिया गाउँको बासिन्दाले सुरक्षित र सुविधायुक्त ठाउँको माग गरेका छन् । तत्कालीन डुमरवाना ७ अन्तर्गत रहेका उक्त गाउँ साढे तीन दशकदेखि छ । यहाँ पिछडिएका तामाङ जातिको बाहुल्य छ । सबै विपन्न छन् । बस्ती व्यवस्थापन गर्न सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ । एक घर एक रोजगार, जिल्लाभित्रै घरबास, खेतीयोग्य नि:शुल्क जग्गा उपलब्ध, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत्सहित भौतिक पूर्वाधारको व्यवस्था, बस्ती छाडेको दिनदेखि एक वर्षसम्मको नि:शुल्क खानपानको व्यवस्था हुनुपर्नेलगायत उनीहरूले सरकारसँग माग गरेका छन् । मागको सुनुवाइ नहुँदा टाँगियाका बान्दिालाई यतिखेर बासको चिन्ता भएको छ । बासको समस्या लिएर यहाँका झन्डै १ हजार ४ सय घरपरिवारका ६ हजार बासकै चिन्ताले पिरोलिएका छन् । २०३२ सालमा सरकारले त्यस क्षेत्रमा वृक्षरोपण गर्दा त्यसको रेखदेख गर्न बस्ती बसाएको थियो । पूर्व–पश्चिम राजमार्गबाट ८ किलोमिटर दक्षिण जंगलमा उक्त बस्ती पर्छ । गरिबी, असुरक्षा, खानेपानी, स्वास्थ्य, शिक्षालगायतको समस्या उनीहरूले झेल्दै आएका छन् । केहि समय निजगढमा फास्ट ट्रयाक र निजगढ विमानस्थल छिटो बनाउन दबाब कार्यक्रम पनि गरिएको थियो ।

प्रकाशित मिति: २०७२ असार ५ ०९:३९

साभार कान्तिपुरबाट

nijgadh basi

dabadmulak