वीरगन्जका व्यापारी भन्छन अब पेट पाल्न जागिर खोज्नु पर्ने अवस्था

समाचार

83 Views

वीरगन्जस्थित पान गल्लीमा घडी पसल सञ्चालन गरेका धर्मराज सोनीको दैनिकी नै फेरिएको छ। सधैं बिहान आठ बजे नै पसल खोल्न घरबाट निस्किने उनी मधेस आन्दोलन सुरु भएयता भने खाना खाएर दिउँसो एकदुई बजेमात्र पसल पुग्छन्। ‘बिहानै आएर के गर्नु’, उनले भने, ‘आधा सटर मात्रै खोल्यो भने पनि लट्ठी र भाटा लिएर आन्दोलनकारी आइपुग्छन्।’ मधेस आन्दोलनले व्यापारव्यवसाय चौपट भएको उनले बताए । ‘साढे तीन महिना भइसक्यो, घरधनीलाई एक सुको भाडा तिर्न सक्या छैन’, उनले थपे, ‘बिक्रीबट्टा शून्य छ । कर्जा लिएर दालरोटी चलाएको छु।’ घन्टाघरस्थित मेनरोडमा रहेको गणेश लक्ष्मी कपडा पसलका सञ्चालक कौशल वर्णवालको पनि दुःखेसो उस्तै छ। ‘दिनमा एकदुई घन्टा आधा सटर खोल्न पाइन्छ तर ग्राहकको नामोनिशान नै हुँदैन’, उनले भने, ‘यसरी पनि के व्यापार गर्नु? ‘ यसपालिको तिहार र छठमा विगतको तुलनामा आधा पनि व्यापार नभएको उनले बताए।’गाडी घोडा चलेकै छैन। व्यापार पनि शून्य भएको छ। मैले त यसपालिको दिवाली र छठमा बाहिरबाट सामान पनि मगाइनँ’, उनले भने, ‘यस्तै हो भने त व्यापार नै छोड्नुको विकल्प छैन।’ माईस्थानचोकमै रहेको दीपक टाइम सेन्टरका सञ्चालक दीपक सर्राफको पनि उस्तै दुखेसो छ। उनले भने, ‘पसल खोल्न भनेर सधैं घरबाट त आइन्छ तर पसल खोल्ने अवस्था नै हुन्न। दिनभरि सटरकै अगाडि बसेर आन्दोलनकारी र प्रहरीबीचको घम्साघम्सी हेरेर समय बिताइन्छ गरिन्छ।’ यस्तै रहिरहे पसलै बेचेर नोकरी खोज्नुपर्ने अवस्था आइसकेको उनले बताएको छ । संविधान र सीमांकनको विरोधमा मधेसकेन्द्रित दलहरूले साउन ३० गतेदेखि सुरु गरेको बन्द र हडताल एक सय दिन पूरा भइसकेको छ। वीरगन्ज-रक्सौल नाकाको दसगजा क्षेत्रमा आन्दोलनकारी दलले धर्ना दिएर नाकाबन्दी गरेको पनि दुई महिना बितिसक्यो।

birgunj byapari

साभार यात्रा दैनिक