वीरगन्जबाट भित्रियो १७ सय ट्यांकर र सय अधिक बुलेट

समाचार

98 Views
Gas-bullets birgunj
वीरगन्ज- माघ २२ गते साढे चार महिना लामो नाकाबन्दी हटेयता रक्सौल–वीरगन्ज नाकाबाट १७ सयभन्दा बढी पेट्रोलियम ट्यांकर र एक सय पाँचवटा ग्यास बुलेट भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ भन्दै नागरीकले लेखेको छ ।
‘नाका खुलेपछिको सुरुका दुई दिनमा इन्धन आएन। माघ २५ गतेदेखि इन्धन आउन थालेपछि भन्सारको राजस्व पनि बढ्यो,’ कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले भने, ‘त्यसयता नियमित रुपमा हरेक दिन यो नाका भएर इन्धन भित्रिएको छ।’

भन्सार कार्यालयका अनुसार शुक्रबारसम्म नौ सय २९ ट्यांकरमा १४ हजार ६ सय ९९ किलोलिटर डिजेल, तीन सय सात ट्यांकरमा पाँच हजार पाँच सय २४ किलोलिटर पेट्रोल, चार सय ४० ट्यांकरमा तीन हजार एक सय ७० किलोलिटर हवाई इन्धन र २७ ट्यांकरमा एक सय ६४ किलोलिटर मट्टीतेल ११ दिनमा भित्रिएको छ। जम्मा एक हजार सात सय तीन ट्यांकर तेल भित्रिएको भन्सारको तथ्यांक छ। यो भनेको २३ हजार पाँच सय ५७ किलोलिटर हो। एक किलोलिटर बराबर हजार लिटर हुन्छ।

यसबीचमा यो नाका भएर दुई करोड ३० लाख ५७ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको हो। त्यस्तै १० दिनमा आएका एक सय पाँच वटा बुलेटमा एक हजार आठ सय ९० टन खाना पकाउने ग्यास भित्रिएको छ। टनमा हजार किलोग्राम हुने भएकाले भित्रिएको ग्यास भनेको १८ लाख ९० हजार किलो हो। निगमका अनुसार वीरगन्जबाट भित्रिने इन्धन नेपालको सबैभन्दा बढी खपत हुने मध्यक्षेत्रमा आपूर्ति हुने गरेको छ। जनकपुर, अमलेखगन्ज, नारायणगढ र राजधानी काठमाडौं लगायत ठाउँमा यहाँबाट गएका इन्धन पुर्या इएको वीरगन्जस्थित निगमको कार्यालयले जनाएको छ। इन्धन अझै पनि सहज रुपमा उपलब्ध नभएको गुनासो भने कायमै छ।

राजस्वमा क्रमिक सुधार
इन्धन आयात सुचारु भएसँगै वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि सुधार भएको छ। यो आर्थिक वर्षमा दैनिक ३० करोडभन्दा बढी राजस्व असुलीको लक्ष्य लिएको भन्सारले यहाँको नाका थुनिएको अवस्थामा एक प्रतिशतको असुलीमा झरेको थियो। व्यापारी र ढुवानीकर्ताले जति बल गर्दा पनि दिनको ५० लाखभन्दा बढी असुली नाघ्न सकेको थिएन। नाका खुलेपछि लक्ष्यको आधाको हाराहारीमा राजस्व उठ्न थालेको छ। माघ २२ यता शुक्रबारसम्म एक अर्ब ६३ करोड तीन लाख रुपैयाँ उठेको छ। यसमा इन्धनबाट उठेको करिब ३० करोड रुपैयाँ पनि समावेश छ। यो आर्थिक वर्षमा वीरगन्ज भन्सारलाई एक खर्ब तीन अर्ब राजस्व असुलीको लक्ष्य छ। माघ महिनासम्म १५ अर्ब ३४ करोड मात्र उठेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द, हडतालले वीरगन्ज भन्सारको करिब ४१ अर्ब राजस्व गुम्यो। माघ महिनासम्मको लक्ष्य अनुसार ५६ अर्ब ६ करोड यो नाकाबाट उठ्नुपर्ने हो। ‘क्रमिक रुपमा राजस्व असुलीमा सुधार आउँदैछ,’ पन्तले भने।