नेपाल–भारतबीच सात विषयमा सहमति हेरौ के – के

समाचार

112 Views
Oli_Modi-Meet_India_674691451_637075312_581113394
नयाँदिल्ली: भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले दुई सय ५० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । यससम्बन्धी समझदारीपत्रमा दुई देशका अधिकारीबीच शनिबार हस्ताक्षर भएको छ । यसअन्तर्गत भूकम्प प्रभावित १४ जिल्लामा ५० हजार घर बनाउन एक सय मिलियन अमेरिकी डलर खर्च हुनेछ भन्दै अन्नपुर्णले लेखेको छ  ।
भूकम्प प्रभावित जिल्लामा शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर, स्वास्थ्य क्षेत्रमा ५० मिलियन अमेरिकी डलर र सम्पदा पुनर्निर्माणमा ५० मिलियन अमेरिकी डलर खर्च हुने सहमति भएको छ । परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यसैगरी नेपालको तराई क्षेत्रमा हुलाकी राजमार्गलगायत १७ वटा सडकको सुदृढीकरण तथा स्तरोन्नति गर्नका लागि सझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसअन्र्तगत कुल पाँच सय १७ किलोमिटर सडक खण्ड पर्ने भएका छन् ।
नेपाल संगीत नाट्य प्रतिष्ठान र भारतीय संगीत नाट्य एकेडेमीबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसैगरी नेपाल र बंगलादेशबीच व्यापार गर्न काकभिट्टा—बंगलाबन्द कोरिडोर प्रयोग गर्ने गरी पारवहन रुट तय भएको छ । दुई मुलुकका अधिकारीबीच यससम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । नेपालले आन्ध्र प्रदेशमा पर्ने बिसाखापटनम् बन्दरगाह उपयोग गर्न पाउने सहमति पनि दुई देशबीच भएको छ ।
नेपाल र भारबीच बिसाखापटनम्बाट नेपालसम्म रेलमार्फत व्यापार गर्न सक्ने सहमतिसहित लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । भारतको सिंहबादमार्फत नेपालले बंगलादेशसँग व्यापार गर्न पाउने पारवहनसम्बन्धी अर्को लेटर अफ एक्स्चेन्जमा पनि हस्ताक्षर भएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले मुजफ्फरपुर—ढल्केबर प्रसारण लाइनको विद्युतीय प्रविधिमा स्विच थिचेर उद्घाटन गरेका छन् । यसअनुसार नेपालले तत्कालै ८० मेगावाट विद्युत् भारतबाट पाउने भएको छ । त्यस्तै सन् २०१६ को अक्टोबरमा उक्त प्रसारण लाइनबाट दुई सय २० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ । सन् २०१७ सम्ममा ६ सय मेगावाट विद्युत् उक्त प्रसारण लाइनबाट आदानप्रदान गर्न सकिनेछ ।
नेपाल र भारतले संयुक्त रूपमा प्रबुद्ध समूह गठन भएको घोषणा गरेका छन् । भारत र नेपालका द्विपक्षिय सन्धिसम्झौता पुनरावलोकन गर्न गठित उक्त विज्ञ समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ भेषबहादुर थापा, सभासद् राजन भट्टराई, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य छन् ।
त्यस्तै भारतका तर्फबाट उक्त समूहमा भारतीय जनता पार्टीका सभासद् भगतसिंह कोसियारी, सिक्किम युनिभर्सिटीका पूर्वउपकुलपति महेन्द्र पी लामा, नेपालका लागि पूर्व भारतीय राजदूत जयन्त प्रसाद छन् ।