आखिर किन बन्दैछ कठिन निजगढ विमानस्थल आयोजना ?

भिडियो स्थानिय समाचार

965 Views
  • क्याप्टेन डि आर निरौला –

सम्भावना भए पनि धेरै पर्यटक भित्र्याउन हामीसँग पूर्वाधार छैन। देखाउने कुरा भएरमात्र नहुने रहेछ, यहाँसम्मका लागि यातायातको सहज व्यवस्था पनि गर्नुपर्ने जिम्मेवारी हाम्रै हो। अबको १० वर्षमा नेपालको पर्यटन क्षेत्र कहाँ पुग्ला हामी सजिलै कल्पना गर्न सक्दैनौं। तर, हवाइ क्षेत्र हेर्ने हो भने अब हाम्रो घैलो भरिइसकेको छ। पर्यटक र यात्रु बोकेर धेरै विमान सेवा कम्पनीहरु नेपाल आउन चाहन्छन्। हामी पनि पर्यटक भित्रिउन भन्ने चाहन्छौं, त्यसका लागि योजनाहरु पनि बनाइरहेका छौं। तर, हामीसँग न त सडक गतिलो छ न त रेलमार्गकै सुविधा। पर्यटक भित्र्याउने विकल्पमा हवाइ सेवा नै सबैभन्दा प्रभावकारी हो तर त्यसको हालत देखेकै छौं।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सन् २०११ देखि बाराको निजगढमाथि योजना अघि सरेको हो। तर, यतिखेर आएरमात्र काम अगाडि बढ्ने संकेतहरु देखियो। आजैबाट काम थाल्ने हो भने १० वर्ष लाग्छ त्यो विमानस्थल तयार हुन। यो जति सम्भावना भएको विमानस्थल हाम्रा लागि अरु छैन पनि। तर, यतिखेरै यसको विरोधमा आवाजहरु सतहमा आउन थालेको छ। रुखको विषयलाई लिएर एकथरी मानिसहरु अरु कसैको एजेन्डा बोकेर हिँडेका छन्। अर्काथरी भने अज्ञानतामै चर्का कुरा गरिरहेका छन्। त्यसो त पत्रकारितामा ‘मैले नजानेको के छ र?’ भन्नेहरु हुनु स्वभाविकै होला। देशका हरेकजसो क्षेत्रमा विज्ञ होइन, आफ्नालाई प्राथमिकता दिइनु देशको स्वभाविक चरित्र बनेको छ। त्यसकारण हरेक क्षेत्रमा विज्ञ बन्न कसले रोक्न सक्छ?

गौचरनबाट बनेको विमानस्थल

विमानस्थल निर्माण गर्न कम्तिमा पनि १० वर्ष मौसमको अनुगमन गरिनुपर्छ, हावाको बहाव कुन सिजनमा कताबाट कतातिरको हुन्छ पहिचान हुनुपर्छ। कुन दिशामा प्यारलल रनवे बनाउँदा ‘एयर फेवरेवल’ हुन्छ त्यही हिसाबमा रन वे बनाउनुपर्छ। मौसम बदली हुँदा सम्भावित जोखिमको अवस्था वर्षौ लगाएर मूल्यांकन गर्नुपर्ने हुन्छ।

जतिखेर काठमाडौंमा विमानस्थल खोजियो, गौचरन छ त्यसमै ल्यान्ड गरौं भनेर थालियो। विमानस्थल त संचालनमा आयो तर जतिखेरदेखि यसको निर्माण थालियो, नेपालमा हवाई यात्रु यसरी बढ्छ र विमानहरु आउँछन् भन्ने अन्दाजसमेत गरिएन।

त्यसैले विमानस्थल निर्माणमा उत्तर-दक्षिण रन वे बनाइयो। विमानस्थलमा मौसमसँगै टेकअफ र ल्यान्डिङ गर्दाको प्रोसिड्युअर के हुन्छ भन्ने अनुसन्धान हुन्छ। विमानस्थलले अवतरणमा लिने लोडको क्षमता कति हो भन्ने पनि ध्यान दिइन्छ। तर, काठमाडौंको विमानस्थल यस्ता अध्ययनबाट बनेन। जतिखेर अधिग्रहण गरेर लिइयो, उत्तर-दक्षिण रनवेकै आधारमात्र बनाइयो। काठमाडौं उपत्यकाभित्र पूर्व पश्चिम हावा प्रवाह बढी छ, त्यसले विमानस्थल उपयोगलाई बहुआयामिक बनाउन दिएन। जसको कारण अन्तरर्राष्ट्रिय एयरलाइन्स कम्पनीका जहाज अधिकांश दक्षिणबाट मात्र अवतरण गर्छन्। हामीसँग एउटामात्र धावन मार्ग छ जसले गर्दा समय व्यवस्थापन गरेर उडान र अवतरण निरन्तर गराइरहन सक्दैनौं। सिंगल रन वेले अरु विकल्प निषेध गर्छ। धावनमार्गमा पिच उप्किने लगायतका समस्याको त कुरै नगरौं।

टर्किस एयर चिप्लिँदा तीन दिनसम्म हवाई नाकाबन्दी, यति एयर चिप्लिँदा भएको उडान अवरुद्ध र बंगलादेशको विमान दुर्घटना हाम्रो अवस्था सम्झाउने पछिल्ला उदाहरण हुन्।

निजगढ विमानस्थल : एउटा कठिन काम

हामीसँग उपलब्ध भएमध्ये निजगढ विमानस्थल जति उचित अन्यत्र छैन। काठमाडौं विमानस्थलमा पूर्व पश्चिम रन वे भएको भए अहिले जुन समस्या भोग्नुपरिरहेको छ, त्यो हुने थिएन। यहाँ विस्तार गर्ने ठाउँ नै सकियो। त्यो समस्या निजगढमा छैन, आवश्यकताअनुसार विस्तार गर्ने ठाउँ रहन्छ त्यहाँ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि त्यहाँ उत्रने पर्यटक आउने भनेको काठमाडौं, पोखरा, सोलुखुम्ब वा अन्य पर्यटकीय क्षेत्रमा नै हो। त्यहाँबाट फास्ट ट्र्याकबाट अथवा साना विमानबाट अरु गन्तव्यतिर लाग्ने हो। त्यसैले विमानस्थल भन्नासाथ रन वे मात्र  हो भन्ने सोच नै सबैभन्दा कमजोर तर्क हो। विमानस्थलका लागि जोड्ने फास्ट ट्र्याक अनिवार्य शर्त हो जुन सहज छैन। पहाड छेडेर विमानस्थलसम्मको पहुँच बनाउनुछ। नेपाली सेनाले ट्र्याक खोलिसकेको छ यसमा।

तर, निजगढ विमानस्थल बनाउने कुरा जति सहज छ, यसलाई पूरा गर्न उत्तिकै कठिन। राजा महेन्द्रले पूर्व पश्चिम राजमार्ग बनाउँदा समेत भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘उनीहरुको अनुमति नलिइ किन बनाएको’ भनेकी थिइन्। उनीहरुकै सीमा नजिक विमानस्थल बनाउन त्यसकारण पनि सहज छैन। राजमार्ग त उत्तरतिर थियो, यो विमानस्थल त त्यसभन्दा धेरै तल दक्षिणतिर पर्छ। के भारत यसमा चुप लागेर बस्छ? उसको रुचीमा रहला त हाम्रो महत्कांक्षी विमानस्थल?

मैले ३ वर्षअघि देखि नै भन्दै आएको छु – निजगढ विमानस्थलमा छिमेकीले खेल्ने ठाउँ छ। अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हाम्रो चासो हुनुपर्थ्यो। यहाँनेर याद गर्नुपर्ने विषय यही हो कि हामीसँग दुई तिहाईको सरकार छ। यस्तो सरकारले देशका लागि कडा निर्णय लिन सक्नुपर्छ। आन्तरिक समस्या त स्वत: समाधान गर्न सकिने नै छ। अर्कोतिर फेरि दोहर्याउँ, आज थाल्ने हो भने विमानस्थल बन्न १० वर्ष लाग्छ। हामीले मेलम्ची आयोजना देखेका छौं। १८ वर्ष लाग्दा पनि अझै संशय कायम छ, बनिसक्नेमा। यो त्यस्तै आयोजना त हुने होइन भन्नेमा हाम्रो चासो हुनुपर्ने हो र दवाव पनि त्यस्तो विषयमा दिनुपर्ने हो। तर, कुरा उठ्छ रुखको।

रुख र रन वेको किचलो

१० वर्षपछि तयार हुने विमानस्थल भनेपछि त्यसको दायरा पनि बृहत नै हुनुपर्छ। दुईवटा प्यारलल रन वे चाहिन्छ नै। एकातिरबाट ल्यान्ड भइरहँदा अर्कोतिरबाट टेकअफ गर्नैपर्छ। त्यसो हुँदा मिनेट मिनेटको मूल्य बचाउन सकिन्छ। यस्तो भएमा हरेक मिनेटमा विमान उड्न र उत्रिन सक्छ।

विमानमा यात्रु हालेर ट्याक्सी वेमा पालो कुरेर बस्नुपर्न वाध्यता हाम्रो नियती बनिसकेको छ। कुनै कुनै समय त त्रिभुवन विमानस्थलमा इन्जिन स्टार्ट गरेर आधा घन्टासम्म पालो कुर्नुपर्छ टेकअफका लागि। यात्रु हालेर इन्जिन अन गरिसकेपछि इन्जिन अफ गर्न मिल्दैन। यात्रुको समयमात्र होइन त्यसले अत्याधिक इन्धन पनि समाप्त गरिरहेको हुन्छ। दुई वटा रन वेमात्र हुन्थ्यो भने यस्तो समस्या भोग्न पर्दैन थियो। त्यसले विमानस्थलको क्षेत्रफल बढाउनु स्वभाविक भयो।

त्यहीअनुसार अब विमानका लागि पार्किङ स्थलहरु चाहियो। नेपाल एयरलाइन्सका लागि ह्याङ्गर चाहियो। त्यसैगरी वुद्ध एयर, यति एयरजस्ता हरेक कम्पनीका लागि ह्याङ्गरको प्रस्ताव आउनेछ नयाँ विमानस्थलमा। विमान कम्पनीका मेन्टिनेन्सका लागि पनि ठाउँ चाहियो। टर्मिनल भवन पनि विमानस्थलको क्षमताअनुसारकै बनाउनुपर्‍यो।

त्यसबाहेक कुनै कारणवस फ्लाइट क्यान्सिल भयो भने, यात्रुलाई तत्काल काठमाडौं ल्याउन असम्भव होला। त्यसका लागि होटलहरु चाहियो। धेरै यात्रु भएपछि एउटा होटलले पुग्ने कुरा भएन, त्यसका लागि थप क्षेत्रफल चाहियो। २४ घन्टा चल्ने विमानस्थलका लागि कर्मचारीहरु राख्ने क्‍वाटर पनि चाहियो। एउटा सानो शहर नै बन्छ त्यस क्षेत्रमा। वास्तवमा विमानस्थल निर्माणपछि निजगढ एउटा विकसित महानगर बन्ने सम्भावना रहन्छ। रन वेका लागि मात्र रुख काटौं भन्नु एउटा भ्रमभन्दा बढी केही होइन। त्यसकारण रुख काटिन्छ।

रुख कम काटौं भन्ने सिक्काको एउटा पाटोमात्र हो। रुख रोप्‍न र हुर्काउन पनि सकिन्छ भन्ने अर्को पाटोलाई कटानसँगै जोड्नुपर्छ। सरकारी जग्गा हामीसँग प्रशस्त छ त्यसमा हरियाली बनाउन लाग्‍नुपर्छ। निजगढमा एउटा समृद्ध शहर बनाउँछौं भन्ने सोचका साथ रुख काट्नुपर्छ र हरियाली उत्तिकै बनाउन रोप्न पनि पर्छ।

निजगढ विमानस्थलको धावनमार्ग पूर्व पश्चिम हुने भएकाले रन वे जति पनि लामो बनाउन सकिन्छ। यहाँ मनसुनमा पूर्वबाट हावा आउँछ भने मनसुनपछि पश्चिमबाट। त्यसैले सिजनअनुसार कहिले पूर्व त कहिले पश्चिमबाट ल्यान्ड गर्न सहज हुन्छ। यसको अर्थ हो, एयरक्राफ्टको पर्फर्मेन्स बढ्नु, कम धावनमार्गमा नै ल्यान्ड गर्न सकिनु र जोखिम न्युन हुनु।

वन फडानीको विषयलाई हामीले हाम्रो आवश्यकतासँग पनि जोडेर हेर्नुपर्छ। यो विमानस्थल निर्माणका विषयमा कतिपयले बाह्य दवावमा मात्रै रुखको मुद्दा उठाइरहेका छन्। उनीहरुलाई थाहा नै होला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असाममा एउटा जलविद्युत आयोजना निर्माणका लागि ४ हजार हेक्टर वन फाँड्न अनुमति दिए। यहाँ सोचनीय विषय हो – आवश्यकता कति महत्वपूर्ण हो भन्ने। हामीले वन क्षेत्र जति मास्छौं त्यति नै विकास गर्न सक्छौं भन्ने आत्मविश्वास राख्नुपर्छ र त्यसका लागि खबरदारी पनि गरिरहनुपर्छ। अब रुख काटेरै नेपाल खत्तम हुन्छ भन्ने तर्क गर्ने हो भने हामीले उन्नती भन्ने शब्द छाड्नुपर्छ।  मुस्किलले हाम्रो एउटा ठाउँ बन्दै छ, त्यसलाई पनि १० ठाउँबाट रोक्ने हो भने हामी सिद्धिरहने बाटोमा रहिरहने छौं।

विमानस्थल नजिक रुख हुँदा पञ्चायतकालमा धेरै संकट बेहोर्न परेको अनुभव म आफैँले गरेको छु। पहिले चन्द्रगढी, भरतपुर, सिमरा लगायतका धावनमार्ग नजिकै अग्ला अग्ला रुख थिए। रुख काट्न प्रतिबन्ध लगाइएको थियो। जहिले पनि रुख नाघेर अवतरण गर्न खोज्ने, विमानले धावन मार्ग छोड्ने सम्भावना अत्याधिक हुने। विमान धावनमार्गबाहिर जाने जोखिम सधैं। पञ्चायत व्यवस्था भएकाले सेनाकै हालिमुहाली थियो जताततै, अहिलेजस्तो अवस्थाको सेना होइन। त्यतिखेर बोल्न कसैले नसक्ने। धेरै नै जोखिमपूर्ण अवतरण हुन्थ्यो त्यतिखेर।
त्यसैले पञ्चायमा सेनाले रुखकै कारण बढाइदिएको जोखिम अब बन्ने विमानस्थलमा हुनु हुँदैन।

धेरै ढिलो भइसक्यो

आजभन्दा १० वर्षमात्र अगाडि हामीले अहिले बोकेको स्मार्टफोनको प्रयोग कल्पनासमेत गर्न सकेका थिएनौं। १० वर्षपछि उड्ययन क्षेत्र कस्तो बन्छ अहिले भन्न सकिन्न। तर, ठूला क्षमताका विमानहरु अहिले हाम्रो विमानस्थलमा उत्रिन सक्दैन। यतिसम्म कि थाइ एयरवेजका अहिले उत्रिरहेका ठूला विमानलाई नल्याउन अनुरोध गरेका समाचार हामीले पढेका छौं। हामीले ठूला भन्ने गरेका विमान, बाहिरका लागि मध्यमस्तरका मात्र हुन्। लोड क्यापासिटी नम्बर (एलसिएन)कै आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बोइङ ७७७ समेत अवतरण जोखिमपूर्ण छ। अब एयर बस ३८० को यहाँ कल्पना नै नगरौं। लुप्थान्साको ७४७ यहाँ ल्यान्ड हुँदा टायर ब्रस्ट भएको सबैलाई थाहै छ।

त्यसैले अब बन्ने विमानस्थलले ती सबै समस्यालाई सम्बोधन गर्नैपर्छ। ठूलाठूला कार्गो विमानहरु सहजै उत्रिन सक्ने बनाउनैपर्छ। विज्ञानले कहाँ पुराउँछ अनुमान गर्न सकिन्न। हरेक दिन प्रविधि अपग्रेड भइरहेकै छ। अहिलेको सोचले बनाएको विमानस्थलले बनेपछिको अर्को २० वर्ष ठूला साना जहाज थेग्न सक्छ। त्यसपछि के होला भन्ने प्रश्न पनि छ। विश्वका अधिकांश मुलुकमा २० वर्षपछि के हुन्छ र आफ्नो विमानस्थलको कसरी क्षमता विस्तार गर्ने भनेर अहिलेदेखि नै काम थालिरहेका छन्, हामी भने निर्माण हुनै अझै १० वर्ष लाग्ने विमानस्थल निर्माणको विरोधमा अल्झिरहेका छौं।

(वरिष्ठ पाइलट निरौलासँग बसन्तराज उप्रेतीले गरेको कुराकानीमा आधारित)

पहिलोपोष्टबाट साभार

यो पनि हेरौ
मुटु रोगी ममता रुदै भन्छिन मलाई बचाउनुहोस । कतारबाट यति सहयोग आयो |