निजगढसमाचार संवाददाता ।
कार्तिक २५, २०७५ । महोत्तरी : विज्ञान प्रविधि तथा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले परम्परागत शिक्षालाई निरन्तरता दिन आफू नआएको बरु शिक्षामा आधुनिक विकासका निमित्त आएको बताएका छन्। उनले हाल नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्यालाई रोक्न पहुँचको आधारमा नभई गुणस्तरीय शिक्षाको आधारमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। महोत्तरीको गौशालास्थित रूपान्तर मिडिया आयोजना गरेको छठ तथा समाचकेवा पर्वको अवसरमा आयोजित आम मानिस, राज्य र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले संघीयताको नयाँ संरचनामा भएकोले काम गर्न कठिनाइ उत्पन्न भइरहेको बताए। उनले भने, ‘म मन्त्रीकै रूपमा म सन्तुष्ट छुइनँ, तथापि संघीयताको नयाँ अभ्यासमा पूर्वाधार नभएको अवस्थालाई ध्वस्त हुनबाट जोगाउन अहिलेको प्रमुख आवश्यकता छ।’ उनले प्रदेश मुख्यमन्त्री तथा स्थानीय सरकारको उपस्थितिमा शिक्षा नीति बनाउने तयारी गरेको जानकारी गराउँदै नयाँ प्रणालीको अभ्याससँगै शिक्षामा परिवर्तन आवश्यकताअनुसार गरिने बताए। विकासका लागि अनुकूल वातावरण, टिम र सञ्जाल भए मात्र विकास सम्भव रहेकोले उपयुक्त वातावरणमा विकास लागि अपरिहार्य रहेको बताए। अन्तरक्रियामा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, प्रतिनिधिसभा सदस्य दिलकुमारी साह, प्रदेशसभा सदस्यहरु शारदा थापा, भरत साह, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, रामगोपालपुरका नगरप्रमुख अशोक कुमार मण्डल, विभिन्न नगरका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।

Advertizee