निजगढसमाचार संवाददाता ।
कार्तिक २८, २०७५ । निजगढ : आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि निजगढको लाल बकैया छठ घाटसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।
छठको तेस्रो तथा मूख्य दिन मंगलबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले बुधबार बिहानै उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । बाराको कलैया सिम्रौनगढ, पर्साको बिरगञ्ज, सहित काठमाण्डौको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरे ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । आदीकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ । त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले गुप्तवासमा रहँदा सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको जनाइन्छ ।