आफ्नो उत्पादनमा जोड दिऔं : मन्त्री यादब
निजगढसमाचार संवाददाता ।
कार्तिक ३०, २०७५ । बारा : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादबले आफ्नो उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बाराको जितपुरसिमरा १४ स्थित दुधौरा नदि किनारमा बारा महोत्सवको उद्घाटन समारोहालाई सम्बोधन गर्दै मन्त्री यादबले सामुहिक उत्पादनमा जोड दिनुभयो।
नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य समेत रहनुभएका मन्त्री यादबले युवाहरुलाई सामुहिकतामा सहकारी मार्फत उत्पादनमा लाग्न आह्वान गर्नुभयो । उहाँले सरकारले तालिम र औजार उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रमलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रतिनिधि सभा सदस्य सहिमा हुसेन, प्रदेश सभा सदस्य ज्वाला साह, सुन्दर विक, शोभा लामा, नेपाल कम्यूनिष्ट पार्टी नेकपाकाका केन्द्रिय सदस्य गोपाल ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह लगायतले सम्बोधन गर्नुभएको थियो ।
एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत वडा अध्यक्ष रामशरण बर्तौला र सञ्चालन किशोर शर्माले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका नेता, जनप्रतिनिधि, ब्यवसायिको लगायतको सहभागिता रहेको थियो । कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला बारा महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।
पर्यटन पर्वद्धन
महोत्सवको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धन गरिने भएको छ। जिल्लाको पर्यटकीय स्थलका बारेमा तस्विर, भिडियो र ब्रोसरबाट जानकारी गराउने ब्यवस्था मिलाईएको अध्यक्ष भट्टले जानकारी दिए।
मुनाफाको ५० प्रतिशत पार्कमा
महोत्सवका लागि करिब ५८ लाखको खर्च लाग्ने अनुमानित गरिएको छ। महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिएको अध्यक्ष भट्टले जानकारी दिए। महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ।
दर्जनौं कलाकारको प्रस्तुति
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ। महोत्सवमा शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, लोकगायक मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्लेले प्रस्तुती दिनेछन्। त्यसैगरि नेपाल आइडलका निशान भट्टराईलगायत ३० जना भन्दा बढी कलाकारको प्रस्तुति रहनेछ।