निजगढसमाचार संवाददाता ।
कार्तिक ३०, २०७५ । बारा : चर्चित नायक नाजिर हुसेन गृह नगरमा सम्मानित भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा नायक हुसेन सम्मानित भएका हुन्।
जीतपुरसिमरा–१४ का हुसेनलाई महोत्सव उद्घाटन समारोहमा आयोजक एस फाउण्डेशन अफ नेपालले सम्मान गरेको हो।
स्थानीय स्तरबाट कलाकारितामा संघर्ष गरेर राष्ट्रिय स्तरसम्म आफ्नो छवि बनाउन सफल भएको भन्दै नायक हुसेनलाई सम्मान गरिएको अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिए।
संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले हुसेनलाई सम्मान गर्ने कार्यक्रम तय भए पनि मन्त्री कार्यक्रम छोट्याएर बाहिरिएपछि वडा अध्यक्ष रामशरण बर्तौलाले हुसेनलाई सम्मानपत्र हस्तान्तण गरेका थिए।
हुसेनले अहिलेसम्म दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । डुमरवना कला केन्द्रबाट सडक नाटकबाट अभिनय यात्रा सुरु गरेका हुसेनले काठमाण्डौंमा मन्डला थिएटरबाट रंगकर्मीको उदाए।
रंगमञ्चमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर जस्ता चर्चित नाटकमा अभिनय गरेका थिए। चलचित्रहरुमा ‘होस्टेल रिटर्न्स’, ‘गँठो’, ‘जंगे’, ‘पुन्टे परेड’, ‘वीर विक्रम’, ‘तिमी सङ्ग’ जस्ता सफल चलचित्रमा नायकको परिचय स्थापित गरेका छन्।