निजगढसमाचार संवाददाता ।
मंसिर १५, २०७५ । निजगढ : बाराको निजगढ स्थित लालबकैया नदीको पुल उत्तरतर्फबाट नदिजन्य पदार्थको उत्खनन गर्ने क्रममा उत्पन्न विवाद भएपछि गठन गरिएको अनुगमन समितिले काम थालेको छ । निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको संयोजकत्वमा रहेको अनुगमन समितिले शुक्रबार बकैया नदीको अनुगमन गरेको हो । जिल्ला समन्वय समिति बाराले बनाएको प्रारम्भिक वातावरणीय परिक्षण (आईइ) रिपोर्ट अनुसार निजगढ नगरपालिकाले लालबकैया नदीको पुलबाट ५ सय मिटर उत्तरतर्फ नदीको बिच भागबाट नदिजन्य पदार्थ उत्खनन गर्नका लागि ठेक्का सकार गरेको ओम सप्लायर्सलाई निर्देशन दिएपछि स्थानीयले अवरोध गरेपछि समिति गठन भएको हो । ७ करोड ७७ लाखमा लालबकैया नदीको नदिजन्य पदार्थ निकासीको ठेक्का सकार गरेको छ । तर स्थानीय वासिन्दाले पुलको उत्तरतर्फ नदि उत्खनन गर्न नदिने अडान लिएपछि विवाद उत्पन्न भएको विवाद मिलाउनका लागि निजगढ नगरपालिकाले बुधबार आयोजना गरेको सर्वपक्षीय भेलाले अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।
अनुगमन समितिमा भेलाले नगर कार्यपालिका, राजनीतिक दल, समाजसेवी, प्रभावित क्षेत्रका वासिन्दा, सामुदायिक वनका प्रतिनिधि, पत्रकार, प्राविधिक र उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधि छनोट गरेर अनुगमन समिति गठन गरिएको छ ।
यो पनि हेर्नुस्