पर्साको सखुवा प्रसौनीमा संरक्षित पाटेबाघ मृत फेला

0
18

निजगढसमाचार संवाददाता ।
मंसिर २३, २०७५ । वीरगन्ज : पर्सामा शनिबार एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । पर्साको सखुवा प्रसौनी गाँउपालिका–१ मा पर्ने राष्ट्रिय वन छेउको महादेव खोलाको झाडीमा शनिबार अन्दाजी १० वर्ष उमेरको पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।

पछाडि पट्टीको बायाँ खुट्टाको खुर र हेकुलाको मासु काटेर लगेको अवस्थामा बाघ भेटिएको बताइएको छ । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत वशिष्ठ नारायण कुर्मी भन्छन्, ‘बाघको मृत शरीर सढेको अवस्थामा भेटियो । सायद ५÷६ दिन पहिले नै मरेको हुनु पर्छ ।’

बाघको प्राकृतिक मृत्यु हो वा कसैले मारेको यकिन भन्न नसकिने कुर्मीको भनाइ छ । यसबारे अनुसन्धान भइरहेको उनले बताए । शनिबार घाँस दाउरा लिन जंगल जाँदै गरेक स्थानीयले बाघलाई मृत अवस्थामा फेला पारेपछि जिल्ल वन कार्यालय पर्सामा खबर गरेका थिए ।

Advertisement in Post

पर्सा राष्ट्रिय निकुन्जका सहायक वन संरक्षण अधिकृत शीव नारायण साह, डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत वशिष्ठ नारायण कुर्मी लगायतको टोलीे घटनास्थलमा पुगेको थियो । मृत अवस्थामा भेटिएको बाघको पाष्टमार्टम गरी शनिबार साँझ नै सेक्टर वन कार्यालय बढ् निहारको परिसरमा खाल्डो खनेर गाडिएको कुर्मीले जानकारी दिए । सन् २०१८ मा पर्सा राष्ट्रिय निकुन्जले गरेको गणना अनुसार पर्सा राष्ट्रिय निकुन्जमा अहिले बाघको संख्या १८ छ ।