पछिल्लो समय सामाजिक सञ्जालमा ‘उजेली’ टेलिफिल्म ‘हट केक’ भइरहेको छ। नेपाल टेलिभिजनबाट २६ वर्षअघि प्रसारण भएको टेलिफिल्मले अहिले आएर एकाएक चर्चा कमाउनु आश्चर्यजनक हो। नेपालमा अहिलेसम्म थुप्रै टेलिफिल्म बनेका छन्। सबै गुमनाम छन्। तर, ‘उजेली’ दियो बनेर धपक्क बलेको छ। अन्नपूर्ण सम्पूर्णका लागि दीपेन्द्र लामाले  २६ वर्षपछि पनि  ‘उजेली’ किन हिट? शीर्षाकको विचार तयार पारेका छन् ।

दीपेन्द्र गौचनद्वारा निर्देशित यो टेलिफिल्म अहिले युनिसेफ नेपालको युट्युब च्यानलमा उपलब्ध छ। बालविवाहको विषयलाई मार्मिक ढंगमा उठान गरिएको ‘उजेली’लाई युनिसेफले निर्माण गरेको थियो।

उजेली नामकी बालिकाले घरको कामधन्दा भ्याउँदै स्कुल पढिरहेकी हुन्छिन्। पढाइमा तेज छिन्। तर, उनलाई आमाबाउले बिहे गरेर पठाइदिन्छन्। स्कुल पढ्न चाहने उजेलीको अधुरो सपनालाई युट्युबमा अहिले हेर्नेहरूले पनि निकै रुचाएका छन्।

Subscribe Nijgadh TV on Youtube

उजेली बनेर अभिनय गर्ने बिन्दा अधिकारीका ताजा अन्तर्वार्ता पनि युट्युबमा छाइरहेको छ। सबै दर्शकले उनको अभिनयको तारिफ गरेका छन्। र, ‘उजेली’ले अहिले दर्शकको मन जितिरहेको देखेर स्वयं बिन्दा पनि खुशी छिन्।

वास्तवमा ‘उजेली’ टेलिफिल्मले २६ वर्षअघि नै नेपाली फिल्ममेकिङमा एउटा तरंग पैदा गरिदिएको थियो। त्यतिबेला नेपाली फिल्ममा बलिउडको संक्रमण थियो भने टेलिफिल्ममा चाहिँ नाटकको। दुवैमा अभिनय अतिरञ्जित हुन्थे।

तर, ‘उजेली’मा कतैको पनि संक्रमण देखिएको थिएन। निर्देशक गौचनको कामलाई ‘यथार्थपरक फिल्म’को पहिलो अभ्यासका रूपमा लिइयो। टेलिभिजनका लागि बनाइएको भए पनि यसले त्यतिबेला ठूलो पर्दाका फिल्मले भन्दा बढी ‘हाइप’ सिर्जना गरेको थियो।

नेपालमा मौलिक तथा कलात्मक फिल्मको वकालत गर्ने पहिलो पुस्ताका फिल्मकर्मी हुन्, दीपेन्द्र गौचन। उनले धेरै फिल्मकर्मीलाई प्रशिक्षण पनि दिए। मौलिक नेपाली फिल्मको खोजका लागि उनले केही फिल्मकर्मी तथा समीक्षकसँग मिलेर ‘मुभमेन्ट’ नै चलाए।

उनकै संगतबाट नवीन सुब्बाले ‘नुमाफुङ’ फिल्म बनाए। ‘नुमाफुङ’ सँगसँगै बनेको हो, छिरिङरितार शेर्पाको ‘मुकुण्डो’। यी दुई फिल्म मात्र होइनन्, पछिल्लो छिमलका फिल्म निर्देशक दीपक रौनियार, मीन भामहरूमा पनि दीपेन्द्र गौचनको प्रभाव भेटिन्छ।

वास्तवमा ‘उजेली’मार्पmत गौचनले मौलिक फिल्म कस्तो हुन्छ भनेर देखाएका थिए। कलात्मकताले ओतप्रोत भएकोले नै २६ वर्षपछि यो टेलिफिल्म दर्शकको प्रिय बन्न पुगेको हो। अहिले हेर्दा पनि यो कतै बिझाउँदैन।

यसको ‘कास्टिङ’ अर्थात् कलाकार छनोट एकदम प्राकृतिक छ। बजारमा कलाकार भनेर चिनिएका कोही पनि छैनन्। सबैजसो ‘ननएक्टर’ नै छन्। र, ‘ननएक्टर’बाट कसरी काम लिन सकिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हो यो।

उजेलीको भूमिकामा रहेकी बिन्दा अधिकारी त सबैको मनमा बसेकी छिन्। उनको बुबा बनेका पद्मनिधि पौड्यालले समेत स्वाभाविक अभिनय गरेका छन्। हरिप्रिया पौड्याल (उजेलीकी आमा) र भाइ नारायण (क्षितिज चाम्लिङ) समेत यथार्थ पात्र लाग्छन्।

यसमा प्रयोग गरिएको संवाद ठेट सुनिन्छ। निर्देशक गौचनले कुवेर गड्तौलासँग मिलेर यसको संवाद तयार पारेका हुन्। कुनै पनि संवाद नाटकीय छैनन्। बालबालिकाले बोल्ने संवाद र प्रौढ उमेरका पात्रले बोल्ने संवाद उमेरअनुसार लेखिएका छन्। संवाद यथार्थपरक त छ नै, भाषाको लवज पनि मीठो छ।

‘उजेली’को अर्को विशेषता हो, यसको शालीन छायांकन। त्यतिबेला र अहिले पनि क्यामरालाई आवश्यकताभन्दा बढी चलायमान बनाउने प्रवृत्ति छ। तर, यसमा भने सटले मागेको बेला मात्र क्यामरा मुभमेन्ट देखिन्छ। नत्र प्रायः सट स्थिर नै छन्। त्यसले फिल्मलाई शालीन बनाएको छ। बढी क्यामरा मुभमेन्टले कहिलेकाहीँ फिल्मको कथाप्रवाहमा अवरोध पु¥याउने काम गरिरहेको हुन्छ। ‘उजेली’मा चाहिँ सिद्धार्थ शाक्यले छायांकनमा आफ्नो परिपक्वतालाई प्रमाणित गरेका छन्।

फिल्म सुन्दर बन्नका लागि भिजुअल मात्र होइन, अडियो पनि आकर्षक हुनुपर्छ। निर्देशक गौचनले यसमा ‘फिल्ड’को साउन्डलाई हुबहु सुनिने गरी कैद गरेका छन्। ब्याकग्राउन्ड म्युजिक ठिक्क मात्रामा प्रयोग गरिएको छ।

‘उजेली’मा बालविवाह मुख्य विषयका रूपमा रहेको छ। तर, त्योसँगै छोरीप्रति आमाबाउले गर्ने विभेदलाई पनि उजागर गरिएको छ। श्रममा विभेद, खानेकुरामा विभेद, स्वास्थ्य उपचारमा विभेद र शिक्षामा विभेद। वास्तवमा छोरीमाथि अभैm पनि विभेद नै विभेद छ। यस्ता खाले विभेदप्रति गरिएको कटाक्षले पनि ‘उजेली’ मर्मस्पर्शी बनेको हो।

निर्देशक गौचनले पहाडी बाहुन परिवारको कथालाई पस्केका छन्। कथानुसार जेजस्तो संस्कृतिको प्रसंग आउँछ, तिनलाई जस्ताको तस्तै खिचिएको छ। रीतिथितिहरूको फुटेज पट्यारलाग्दो लामो छैन। कथा र मुडसँगै यो बग्छ। बिहेको कुरा छिन्ने, बिहेको दिन गोडा धुने चलन र बिहेपछि भान्सामा छोरीको फेरिएको स्थानबारे छर्लंगसँग प्रस्तुत गरिएको छ।

यसमा बालबालिका नै मुख्य पात्र रहेका छन्। त्यसैले बालमनोविज्ञानसँग खेल्नुपर्ने चुनौती निर्देशकलाई थियो। सामान्यतया बालपात्रलाई अस्वाभाविक भूमिकामा उभ्याउने प्रवृत्ति थियो। तर, यसमा कुनै पनि बालपात्र अप्राकृतिक देखिँदैनन्।

बालमनोविज्ञानको संवदेनशीलतालाई निर्देशकले सुरक्षित रूपमा पस्किन सकेका छन्। उजेली, उनका भाइ र उनका पति सबै बालपात्र हुन्। उनीहरूको ठट्टा, झगडा र आत्मीयतालाई उमेरअनुसार प्रदर्शन गराइएको छ।

उजेली र उनको पतिबीचका दुईतीनटा दृश्य जीवन्त छन्। आमाबाउले उनीहरूको बिहे गराइदिएका छन्। तर, उनीहरूले पति–पत्नीको सम्बन्ध के हो, बिहे भनेको के हो भन्ने बुझेकै छैनन्। यो मनोविज्ञानलाई उजेली र उनको श्रीमान्को ठट्यौली मिसिएको झगडाले प्रष्ट पारिदिन्छ।

नेपाली टेलिफिल्म र फिल्मलाई मेलोड्रामाले ग्रस्त बनाएको छ। त्यतिबेला पनि त्यस्तै थियो परिस्थिति। ‘उजेली’ चाहिँ मेलोड्रामाबाट मुक्त छ। मुख्य पात्र उजेली हुन्। उनले भोग्ने घटना कहालीलाग्दा छन्। तर, तिनलाई अनावश्यक रोनाधोना वा कर्कश बनाइएको छैन।

उजेलीलाई बिहे गर्ने इच्छा छैन। उनलाई अभैm पढ्नुछ। तर, आमाबाउले बिहे गरिदिने कुरा गर्छन्। त्यतिबेला उजेली बिहे गर्दिनँ भन्छिन्, रिसाउँछिन्। अनावश्यक उपद्रो चाहिँ गर्दिनन्।

त्यस्तै, बिहे गरेर उजेलीले घर छाड्ने बेलाको दृश्यलाई समेत अनावश्यक कारुणिक देखाइएको छैन। उजेली पतिकोे घर पुगेपछि सासुसँग भेट हुन्छ। यसमा सासूबुहारीको ‘स्टेरियोटाइप’ खालको ‘केमिस्ट्री’ हेर्न पाइँदैन। अर्थात्, सासूले बुहारीलाई काममा त लगाउँछिन्, तर उनको स्वभाव छुच्चो छैन।

उजेलीलाई माया गर्ने पात्र हुन्छिन्, उनकी जेठानी पार्वती। तर, कलिली उमेरकी पार्वती बच्चा जन्माउन नसकेर ज्यान गुमाउन पुग्छिन्। यो दृश्यलाई समेत धेरै रोनाधोनावाला बनाइएको छैन। ‘उजेली’ले मेलोड्रामा र ‘लाउड एक्टिङ’ बिना पनि दर्शकलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने पुष्टि गरिदिएको छ।आईएनजीओको लगानीमा बनेको फिल्म भन्नासाथ नाक खुम्चाउनुपर्ने अवस्था थियो र अभैm छ। किनभने, त्यसमा नारा र भाषणबाजी बढी थोपरिएको हुन्छ। दर्शकलाई सीधै पाठ पढाउने प्रयास हुन्छ। ‘उजेली’ पनि युनिसेफ नामक आईएनजीओको लगानीमा तयार भएको हो। तर, यसले दर्शकलाई भाषणबाजी नगरीकनै आफ्नो सन्देश बुझाउन सकेको छ। र, २६ वर्षपछि पनि दर्शकलाई यसले तानिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here