काठमाडौँ : वर्तमान केपी शर्मा ओलीको सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरूको पहिचान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले विस्तृत अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो ।

पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन (डीपीआर) पछि निजगढ–बर्दिबास ७० किलोमिटरमा ट्र्याक निर्माण जारी छ । यसका लागि आव ०७६/०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्याइएको छ ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पूर्वपश्चिम रेलमार्गको काम सहज रूपमा अघि बढ्ने बताए । ‘यो आर्थिक वर्षमा केही बजेट पनि परेको छ, बर्दिबास निजगढसम्म काम भइरहेको छ,’ उनले भने, ‘काँकडभिट्टादेखि इनरुवासम्म टेन्डर निकाल्ने तयारीमा छौं । अपुग रकम अर्थसँग आग्रह गर्नेछौं ।’ सरकारको उच्च प्राथमिकताको काम भएकाले बजेटले नरोक्ने उनले बताए ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार जोगवनी विराटनगर (१८ किमि) जोड्न धमाधम काम भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबास खण्डमा जारी छ । भारतले जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्ग बनाउँदैछ । त्यस्तै जलपाइगुडी–काँकडभिट्टा (करिब १ सय किमि), रुपैडिहा–नेपालगन्ज (१४ किमि), भैरहवा–नौतनुवा (१६ किमि)खण्डबाट रेल पूर्वपश्चिम रेलमार्गमा जोडिनेछ । भित्री सहर इटहरी–विराटनगर, लुम्बिनी–भैरहवा–बुटवल, नेपालगन्ज–कोहलपुर पनि रेलले जोडिनेछन् ।

सरकारले बनाउने पूर्वपश्चिम रेलका लागि भने जग्गा अधिग्रहण नै भएको छैन । ‘हामीलाई ठूलो समस्या भनेको रेलका लागि एक इन्च पनि जग्गा छैन,’ मिश्रले भने, ‘सबै किन्नुपर्ने अवस्था छ ।’ भारतले करिब साढे २ सय किमि र नेपाल आफैंले १ हजार ५६ किमि रेलमार्ग बनाउने तयारी छ ।

पूर्वपश्चिम रेलमार्ग सुरुमा चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासीको तमसरी निकाल्ने कुरा थियो । सबै क्षेत्रबाट विरोध भएपछि अहिले उक्त रुटको विकल्प खोजिएको छ । ‘रेल्वे बनाउँदा वन्यजन्तुलाई असर हुनु हुँदैन भन्ने हो, अहिले विकल्पको सम्भाव्यता अध्ययन गरिसकेका छौं,’ महानिर्देशक मिश्रले भने।

‘पहिला बाराको सिमराबाट पर्सा र चितवन निकुञ्ज हुँदै नवलपरासी निकाल्ने योजना थियो, अब निजगढबाट हेटौंडा हुँदै चितवन निस्कनेछ,’ उनले भने। रेलमार्गका लागि सन् २०१७ को लागत स्टिमेट ८ खर्ब थियो । यसमा जग्गा अधिग्रहणको लागत पनि जोडिएको छ ।

काठमाडौं रक्सौल रेलको चर्चा पनि निकै भयो । वीरगन्जछेउ रक्सौलस्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) सम्म रेल चल्छ । त्यहाँबाट काठमाडौं जोड्न खोजिएको हो । यसका लागि भारत सरकारसँग सम्झौता भएर प्रारम्भिक काम अघि बढेको महानिर्देशक मिश्रले बताए । यसको दूरी १ सय ४० किमि हुनेछ ।

‘वीरगन्जको सिर्सिया ड्राइपोर्टबाट बाराको जितपुर आउँछ, त्यहाँबाट निजगढ फास्टट्र्याक वरिपरि हँॅदै काठमाडौं आइपुग्नेछ,’ उनले भने, ‘यसमा ५० किमि सुरुङ बन्ने भएकाले लागत बढी लाग्ने देखिन्छ ।’ ३ खर्ब लागत अनुमान गरिएकामा डीपीआरपछि ५ खर्बसम्म पुग्न सक्ने मिश्रले बताए ।

यता जानकी रेलको तस्विर पनि सामाजिक संजालमा भाइरल भइरहेको छ । सो रेलको तस्विर बारे भने रेल विभागले  हाल सम्म  केहि पनि जानकारी दिएको छैन । –

 

यो भिडियो पनि हेरौ न

यो खबर कान्तिपुर दैनिकबाट साभार गिरएको हो ।