बारा निजगढ ३ सिङ्गौल घर भएका तेक्वान्दोका प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एण्ड लिजेण्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दुत नियुक्त भएका छन् ।

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष समेत रहेका शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दुत नियुक्त गरेको हो । फेडेरेसनले एक पत्र पठाउदै आफुलाई सद्भावना दुत नियुक्त गरेको प्रशिक्षक शर्माले निजगढ डटकमलाई जानकारी गराए ।

 

फेडेरेसनले आगामी अक्टोबरमा अमेरिकाको न्यु जर्सीमा आयोजना हुने हल अफ फेम अवार्ड कार्यक्रमका लागि सद्भावना दुत नियुक्त गरेको हो । हल अफ फेम अवार्ड कार्यक्रम अक्टोबर २५ देखि २७ सम्म आयोजना हुनेछ ।

यस्तै शर्मा एक्स्ट्रा अर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्डका लागि समेत मनोनित भएका छन् । प्रशिक्षक शर्मा यसअघि जर्मनीमा ‘मास्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए  । यस्तै शर्माले नेपालसहित अमेरीका, बेलायत र भारत लगायतका देशमा पनि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

शर्माले विरगन्जबाट तेक्वान्दो करियर सुरु गरेका थिए । ब्ल्याक बेल्ट ५ औं डान शर्मा हाल तेक्वान्दोका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रिको भूमिकामा रहँदै आएका छन् ।