Nijgadh Sugarcane Truck ukhu Nijgadh.com

उखुको तौल घट्नाले , निजगढका कृषक चिन्तित

समाचार

166 Views

Nijgadh Sugarcane Truck ukhu Nijgadh.com
यती खेर उखुबाली लगाउँने निजगढका किसानहरू चिन्तित देखिएका छन् । यसवर्ष उखुको तौल घटेकोले कृषकहरू चिन्तित बनेका हुन् ।  यसवर्ष निजगढमा उत्पादित उखुको तौलमा निकै कमी आएको  कृषकहरूले बताएका छन् । विगत वर्षका तुलनामा यसवर्ष ३५ देखि ४५ प्रतिशतसम्म उखुको तौल घटेको उनीहरूले बताए । “अघिल्लो वर्ष १ बिघा ५ कट्ठामा रोपेको मोरङ उखुको तौल बिक्री गर्ने बेलामा ५ सय क्वीन्टल भएको थियो । “यसवर्ष सोही खेतमा लगाएको उखु घटेर २४७ क्वीन्टल मात्र तौल भयो,” निजगढका कृषक ज्ञानबहादुर श्रेष्ठले बताए ।   अर्का उखु कृषक अमर ग्यालनले गतवर्ष १५ कट्ठा खेतमा ४ सय क्वीन्टल उखु उत्पादन गरेकोमा यसवर्ष घटेर ३५० क्वीन्टलमा झरेको छ । दोस्रो र तेस्रो खुटीबालीमा भने ५० प्रतिशतभन्दा बढी तौल घटेको कृषक ग्यालनले बताए । अर्का उखु कृषक अशोक सुवेदीको पनि ४० प्रतिशतले उखुबालीको तौल घटेको छ । त्यस्तै भाजमनी श्रेष्ठलगायत निजगढका अधिकांश उखु कृषक यसवर्ष उखुबालीबाट सन्तुष्ट देखिएका छैनन् । अधिकांश किसानहरूका अनुसार लामो खडेरीका कारण उखुको बोट रसिलो हुन नपाएकोले उखुको तौल घटेको हो ।
केही कृषकको उखुबालीलाई मुसा, धमिरा, कमिलाले समेत नष्ट पारेको छ ।  चुरे क्षेत्र र निजगढ आसपासको क्षेत्रमा वनविनाशमा तीव्रता आएको कारण सो क्षेत्रमा लामो खडेरी परेको स्थानीय जानकारहरू बताउँछन् ।   मापदण्डविपरीत सञ्चालित क्रसरको धूलो उडेर खेतबारीमा आउने गरेपछि उत्पादन घटेको स्थानीय नारायण धिताल बताउँछन् । क्रसर र वनविनाशकै कारण वर्षा हुन नसकेपछि यसको असर निजगढको उखुबालीमा देखापरेको निजगढका कृषि प्राविधिक साधुराम खरेलले बताए ।