प्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।

शीतलहरले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो।

Subscribe Nijgadh TV on Youtube
यो भिडियो पनि हेरौ 

ADD

शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन्। लहानको तापक्रम मंगलबार बिहान १० डिग्री सेन्टिगे्रड थियो। शीतलहरका कारण लहानलगायत तराई÷मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेको देखिन्छ। तराई÷मधेसमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ। यस अवधिमा मधेसी समाजको जनजीवन कष्टकर हुन्छ। तराई/मधेसमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ।

बिहानै खुल्ने पसल र बजार पनि ढिलो खुल्न थालेका छन्। मौसम परिवर्तनसँगै चल्न थालेको शीतलहरले व्यवसायमा समेत असर पारेको व्यापारी बताउँछन्। चिसो बढेपछि ज्याकेट र न्यानो कपडाबाहेक अन्य सामानको व्यापारमा कमी आएको उनलीहरूले बताए। चिसोले रुघाखोकी, डायरिया, दाम, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ। बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानका प्रमुख डा. सुनिलकुमार सिंहले बताए। जाडो बढ्दै गएपछि हाडजोर्नी, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी बढेको जानकारी उनले दिए।

पर्साको वीरगन्जमा पनि चिसो ह्वात्तै बढेको छ। स्थानीय बोलीमा ‘शीतलहरी’ सुरु भएको छ। मंगलबार दिनभर घाम लागेन। दिउँसै अँध्यारो जस्तो भयो। शीतलहरसँग बढेको चिसोले सहरी र ग्रामीण जनजीवन प्रभावित भयो। सोमबार भने मध्याह्नपछि घाम लागे पनि तातोपन महसुस भएको थिएन। वीरगन्जको तापक्रम १६ डिग्री सेन्टिग्रेडमा झरेको छ। शुक्रबार दिनभरि वर्षा भएपछि चिसिएको वीरगन्ज तात्न सकेको छैन। मौसम पूर्ण रुपमा खुल्न नसक्दा चिसो बढेको हो। शीतलहरले ह्वात्तै चिसो बढेपछि मंगलबार यहाँको जनजीवन थप प्रभावित भयो। चिसोले बालबालिका, स्कुले विद्यार्थी, वृद्धवृद्धा र विपन्न समुदायलाई समस्या भएको छ। चिसो छल्न मंगलबार दिनभरजसो स्थानीयले आगो बालेर तापेको देखियो। चिसोका कारण वीरगन्जका सडकमा मानिस कम देखिए। सडकमा देखिएका मानिस पनि बाक्ला ज्याकेट, स्विटर, च्यादर र कम्बलमा थिए।

मौसममा आएको परिवर्तनले चिसोजन्य रोगका बिरामी पनि बढेका छन्। नारायणी अस्पतालका शिशु रोग विशेषज्ञ डा. कुशराज गिरीले चिसोका कारण बालबालिका र वृद्धवृद्धामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया जस्ता समस्या देखिने हुनाले सचेत हुनुपर्ने बताए।

वीरगन्ज महानगपालिका कार्यालयले शीतलहर चलुनजेलसम्म चोकचोकमा आगो बाल्न दाउरा र विपन्नलाई कम्बल वितरण गर्ने जनाएको छ। ‘हामीले दाउरा ल्याइसकेका छौं,’ वडा समिति कार्यालयमार्फत चोकचोकमा बाल्ने हिसाबले वितरण गर्ने तयारी गरेका छौं,’ मेयर विजय सरावगीले भने, ‘कम्बलको पनि प्रबन्ध भइरहेको छ। हामीले पहिलेदेखि नै जाडोबाट बच्ने उपायअन्तर्गत विभिन्न तयारी गरेका छौंं। एक÷दुई दिनमा दाउरा र कम्बल वितरण हुन्छ।’

स्थानीय तहमार्फत नै चिसोपीडितलाई राहत र सहयोग उपलब्ध गराउने जिल्लास्थित निकायहरुको तयारी छ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद् व्यवस्थापन समितिले शीतलहरको जोखिममा रहेका परिवारको विवरण तयार गर्ने र जिम्मेवारी बाँड्ने काम गरिसकेको छ। ‘मुख्य रुपमा अहिले स्थानीय तहको सक्रियता नै महत्वपूर्ण हुन्छ। त्यसैले विभिन्न जिम्मेवारी तोक्ने, दाउराको प्रबन्ध गर्ने, उच्च जोखिममा रहेका अतिविपन्न, आशक्त, बिरामीलगायतको विवरण हामीले तयार गरेका छौं,’ पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सूचना प्रवाह गर्न सञ्चार क्षेत्रसँग समन्य गरेका छौं। न्यानो कपडा र कम्बल पनि आवश्यक पर्ने भएकाले त्यसका लागि संघीय र प्रादेशिक विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेका छौं।’ नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेलले स्थानीय तह र जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग मिलेर शीतलहरको जोखिममा रहेका परिवारलाई आवश्यक राहत तथा सहयोग गर्ने बताए।