निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा २४ लाख रूख काटिने भनेर विरोध भइरहेका वेला नागरिक उड्डयन प्राधिकरणले १ लाख १४ हजार रूख मात्रै काटेर विमानस्थल बनाउन सकिने अध्ययन प्रतिवेदन तयार पारेको छ । विगतमा भएका विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन (इआइए)लगायत अध्ययनलाई पनि समेटेर प्राधिकरणले ६ महिना लगाई अध्ययन प्रतिवेदन तयार गरेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको विमानस्थलको नयाँ डिजाइनसहितको प्रतिवेदनका अनुसार पहिलो चरणमा १ खर्ब २१ लगानीमै विमानस्थल बनाउन सकिनेछ भने इआइए प्रतिवेदनले भनेजस्तो २४ लाख रूख कटानमा पनि पर्नेछैनन् । 

विमानस्थल निर्माणको मुख्य निकाय प्राधिकरणले विभिन्न समयमा भएका अध्ययन र कोरियाली कम्पनी ल्यान्डमार्क वर्ल्डवाइड कम्पनी (एलएमडब्ल्लू) को प्रतिवेदनलाई समेत विस्तृत अध्ययन गरेर नयाँ विवरण तयार पारेको जनाएको छ । 

Advertizee

विमानस्थल निर्माण गर्न २४ लाख रूख काट्न लागेको भन्दै निर्माण रोक्न सर्वोच्चमा मुद्दा दायर भएको थियो । सर्वोच्च अदालतले शुक्रबार विमानस्थलका सबै काम तत्कालका लागि रोकेर विवादित पक्षलाई थप छलफलका लागि बोलाएको छ ।  

पहिलो चरणमा के–के बन्छ ?
विगतका अध्ययनले २५ सय हेक्टर जमिनमा विमानस्थल निर्माण हुने देखाएको थियो । तर, अहिले १९ सय हेक्टर जमिनमै तीनवटा धावनमार्गसहितको विमानस्थल निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । त्यसका लागि पहिलो चरणमा १९ सय हेक्टर जमिनको रूख कटान तथा मुआब्जा वितरण हुनेछ । 

यसैमध्ये हाल करिब ६० बिघा (९.६ हेक्टर) जमिनको मुआब्जा वितरण भइसकेको छ भने ५० बिघा (८ हेक्टर) जमिनको मुआब्जा बाँड्न बाँकी छ ।  कटान गरिएका रूखको सट्टा वृक्षारोपण गर्न प्रदेश नं २ मा आधा दर्जन स्थानको छनोट भइसकेको छ । उक्त स्थानहरूमा ५० लाखभन्दा बढी रूख रोप्न सकिने प्रतिवेदनले देखाएको छ । अहिलेको कानुनअनुसार राष्ट्रिय गौरवका आयोजनामा एक रूख कटानबापत १० बिरुवा रोप्नुपर्ने व्यवस्था छ ।  

पहिलो चरणमा तयार पारिने एउटा मात्रै धावनमार्गको लम्बाइ ४ हजार मिटर र चौडाइ ६० मिटरको हुनेछ । त्यस्तै गरी त्यसमा खाली भागका लागि चौडाइ ३ सय मिटर र लम्बाइमा ४ हजार १ सय २० मिटरको रहनेछ । 

चौडाइ तर्फको ट्याक्सी वे २ सय ५० मिटर र चौडाइ ५० मिटरको हुनेछ । त्यस्तै, धावनमार्गको समानान्तर ट्याक्सी वे ४ हजार मिटर लम्बाइ र ५० मिटर चौडाइको हुनेछ । अन्तर्राष्ट्रिय टर्मिनल भवन १ लाख वर्गमिटर क्षेत्रफलको हुनेछ भने आन्तरिक टर्मिनल भवन १५ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण हुनेछ । सो विमानस्थल निर्माण भएपछि एसियाकै हबका रूपमा विकास हुने प्राधिकरणको अध्ययनले देखाएको छ । 
 
दश स्थानको अध्ययनपछि निजगढ

सरकारले ०५२ मा नेप्को परामर्शदाता कम्पनीमार्फत देशभर अध्ययन गराएको थियो । जसमा निजगढ सबैभन्दा उपयुक्त हुने सुझाब दिएको थियो । संस्थाले सिमरा, पथलैया, रतनपुर, निजगढ, भरतपुरको शुक्रनगर, भैरहवा, नेपालगन्ज, विराटनगर, पोखरा र दाङको अध्ययन गरेको छ ।  

सरकारले ०३७ सालदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नका लागि प्रत्येक वर्ष वार्षिक बजेटसहित पञ्चवर्षीय र त्रिवर्षीय योजनामा समावेश गर्दै आएको थियो । ०५२ को अध्ययनपछि निजगढको काम अगाडि बढाउन वार्षिक योजनामा समावेश गरिँदै आइएको छ । 

मुआब्जामा खर्च कम
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ६ अर्ब मुआब्जामा खर्च गरेको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा २३ अर्ब मुआब्जामै खर्च भएको छ । तर, ती विमानस्थलभन्दा निकै ठूलो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा बढीमा १ अर्ब मात्रै खर्चिंदा हुन्छ । त्यति मात्र होइन, रूखबाट भएको आम्दानीले वृक्षारोपण गर्न पर्याप्त बजेट पुग्ने अध्ययनले देखाएको छ ।

पहिलो चरणमै डेढ करोड यात्रु क्षमता
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सक्दैन । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थले पहिलो चरणमै ३ सय उडान–अवतरण गर्न सक्छ । अहिले त्रिभुवन विमानस्थलले ७० लाख यात्रुलाई सेवा दिइरहेको छ । सन् २०२२ पछि यात्रु संख्या बढेर ९२ लाख पुग्ने अनुमान छ । सोअनुसार २०२२ पछि त्रिभुवन विमानस्थलले यात्रुको चाप धान्न नसक्ने प्रतिवेदनले देखाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता बढीमा १५ लाख छ भने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ६० लाख मात्रै हो ।

पहिलो चरणमा निर्माण हुने विमानस्थलले वार्षिक १ करोड ५० लाख यात्रुलाई सेवा दिन सक्छ । विमानस्थलकै बाहिरी क्षेत्रफल ८ किलोमिटर क्षेत्र हुने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा तेब्बर पहिलो चरणमा नै हुनेछ । निजगढ विमानस्थलले दोस्रो चरणको निर्माणपछि ३ करोड यात्रु धान्न सक्छ । तेस्रो धावनमार्गसहितको निर्माण सम्पन्न हुँदा वार्षिक ६ करोड यात्रु निजगढले धान्न सक्छ । 

रूखको विकल्प देखियो, निजगढको देखिएन : प्रदीप अधिकारी
निर्देशक, नागरिक उड्डयन प्राधिकरण

०३७ देखि विभिन्न चरणमा भएका अध्ययनले निजगढको विकल्प नभएको देखिएको छ । हामीले रूख काटेर विनाश गर्न खोजका होइनौँ । विकल्पमा वृक्षारोपण पहिलो प्राथमिकता नै हो । तर, यहाँ २४ लाख रूख काटेर खान खोजिएको भन्ने अफवाह फैलाइएको छ । पहिलो चरणमा खास काटिने रूख भनेको १ लाख १४ हजार मात्रै हो । 
देशभरका १० स्थानको अध्ययनपछि निजगढ नै उपयुक्त भएकाले निर्माण सुरु भएको हो । तर, विभिन्न कारणले आयोजना ३९ वर्षदेखि चचार्मा मात्रै छ । अब निर्माणको चरणमा प्रवेश गर्ने वेला विवादमा आउनु दुखःद हो । तर, हामी सबैलाई कुरा बुझाएर अगाडि बढ्छौँ । विमानस्थल तोकिएकै समयमा निर्माण गर्छौं ।