(निजगढ नगरपालिकाव्दारा उत्पादित ‘कोरना नियन्त्रणमा हाम्रो प्रयास’ कार्यक्रमको लागि नगरपालिका प्रमुख सुरेशकुमार खनालसंग पत्रकार महेश्वर अधिकारीले गरेको कुराकानी)

निजगढ नगरपालिकामा कोरोना भाइरस प्रकोप संक्रमणको अवस्था कस्तो रहेको छ?
  –             नगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीबाट हामीलाई अहिलेसम्म प्राप्त सुचनाको आधारमा नगरभित्र कोरना भाइरस संक्रमणको एउटा पनि केश फेला परेको छैन । निजगढमा अहिलेसम्म ३ हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिसकिएको छ । आजको दिनसम्म पनि यहाका बासिन्दामा संक्रमण नदेखिनु हामी सबैको लागि सुखद कुरा हो । तर बाहिरबाट आएका ८ जना व्यक्तिमा संक्रमणको आशंकामा उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा नगरपालिकाको वडा नम्बर ८ र १० मा रहेको क्वारिन्टाइनमा राखिएको छ ।

Vigyapan

कोराना संक्रमण नपाइएको भएपनि यसको डरले निजगढमा पनि धेरै मानिस त्रसित देखिन्छन । यसले स्थानीयको मनोविज्ञानमा कस्तो असर पारेको पाउनु भएको छ?
  –             अहिले विश्वका २ सय १० भन्दा बढी राष्ट्रहरुका लाखौंमा संक्रमण देखिएको छ र एक लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन । मृत्यु हुने क्रम अझ दिनदिनै बढदो छ । संक्रमण  नियन्त्रण गर्न महाशक्ति भनिएका राष्ट्रहरु पनि विफल भइरहेका छन । यस्तो अवस्थामा सन्सारभरी नै सन्त्रास फैलिएको छ । त्यसैले यसबाट निजगढ पनि अछुतो रहनसक्ने कुरा छैन । तर विश्वव्यापीरुपमा आगोको मुस्लो जस्तै फैलिरहेको यो संक्रमणबाट निजगढका जनतालाई जोगाउन नगरपालिकाले आफनो सिमित स्रोत, साधन, क्षमता, बुद्धि र विवेकको भरपुर प्रयोग गरी काम गर्दै आएको छ । र अहिलेसम्म यस कार्यमा सफलता पनि मिलेको छ । नगरमा रहनुभएका स्वास्थयकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनितिक दलका कार्यकर्ता, स्थानीय समाजसेवी, संचारकर्मीको सहयोगबाट हामीले यसलाई निजगढमा प्रवेश हुनबाट अहिलेसम्म रोक्न सकेको र  यो सफलता हात लागेको हो । यो महामारीबाट जोगिइराख्न डर र त्रास भन्दा पनि हामीले सर्तकतापुर्ण व्यवहार गर्न जरुरी छ ।  यो मौसम परिवर्तन हुने बेला पनि हो । यस्तो अवस्थामा धेरैजसो मानिसमा कोरोनासंग मिल्ने रुघा, खोकी र ज्वरो आउने  जस्ता लक्षणहरु पनि देखा पर्नसक्छन । तसर्थ यदि कसैमा यस्तो समस्या देखिहाल्यो भने  त्रसित नहुन र स्वास्थ्यकर्मीसंग सम्पर्क गर्न र परेजमा बस्न म सबैसंग अनुरोध गर्न चाहान्छु । यो परिस्थितिमा सबैको लागि स्वास्थ्य सेवा सहज होस भनेर  हामीले निजगढको साविक रतनपुरी र भरतगंज गाविसमा ३÷३ जनाको स्वास्थ्यमर्कीको कमाण्डो टोली बनाएका छौं । त्यसैगरी प्रतेक वडामा २÷२ जनाको दरले स्वास्थ्यकर्मीको अर्को टोली पनि खटाइएको छ । हामीले प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक र वडामा खटिएका स्वास्थ्यकर्मीसंग सम्पर्कको लागि मोवाइल नम्बर पनि सार्वजनिक गरेका छौ । कुनै समस्या देखिए नगरपालिकाको मेयर उपमेयरको नम्बरमा पनि सिधै सम्पर्क गर्नसक्नुहुने छ । तत्काल सेवा उपलब्ध हुने व्यवस्था गरेको जानकारी गराउन चाहान्छु । यो लुकाएर लुक्ने, डराएपछि छोडिदिने रोग पनि हैन । त्यसैले कुनै समस्या देखिए कसैको डर त्रासमा नपरी तत्काल स्वास्थ्यकर्मी वा आफना जनप्रतिनिधिहरुलाई जानकारी गराउन हुन म सबैसंग अनुरोध गर्न चाहान्छु ।

निजगढ नगरपालिकाले कोरना भारइरस रोकथामको लागि हाल संचालन गर्दै आएको गतिविधि बारे संक्षिप्तरुपमा जानकारी गराइदिनुहोस न ।
  –             हामीले यसको नियन्त्रण रोकथामको लागि विभिन्न ५ चरणमा काम गर्दै आएका छौ । प्रारम्भिक चरण अन्तरगत एफएम रेडियो, पर्चा पम्प्लेट मार्फत चेतना अभिवृद्धि गर्ने काम भएको छ । शुरुका दिनहरुमा विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावकमा सचेतना कार्यक्रम समेत संचालन गरिएको थियो । त्यसैगरी नगरका प्रतेक घरमा मास्क र हात धुने साबुन उपलब्ध गराइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा आइशोलेशन बेड, नगरका प्रमुख स्थान र प्रतेक वडाहरुमा हेल्थ डेक्स तथा क्वान्टिाइनको स्थापना गरेर स्वास्थ्यकर्मीको जिम्मा लगाइएको छ । यसअघि संक्रमण फैलन नदिन नगरका सबै सडकमा स्प्रे गरेका थियौ । स्वास्थ्यकर्मीलाई थर्मल गन, पिपीइ, सेनिटाइजर, मास्क, पन्जा जस्ता आवश्यक सामाग्री र उपकरण उपलव्ध गराउने कार्य भएको छ । यो रोग आफैमा जटिल प्रकृतिको र हालसम्म औषधि पनि पत्ता नलागिसकेकोले संक्रमण नियन्त्रणको लागि लकडाउन नै सबै भन्दा प्रभावकारी देखिएको छ । त्यसैले अहिले हाम्रो ध्यान यसलाई पुर्णरुपमा कार्यान्वयन गर्नुतर्फ छ । र यसको लागि जथाभावी घर बाहिर ननिस्किन हामीले अपिलमार्फत नगरबासीलाई बारम्बार सचेत गराउदै आएका छौ । प्रतिकार्य अन्तरगत किट लगायतका सामाग्रीको व्यवस्था भैनसकेले कंथमकदाचित कसैमा संक्रमण देखा परेको अवस्थामा हेटौडा वा जनकपुरसम्म पुर्याएर भए पनि उपचार गर्न सकियोस भनेर हामीले ३ वटा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखेका छौ । साथै, महामारीबाट नेपाल लगायत विश्वको आर्थिक सामाजिक क्षेत्रमा ठुलो क्षेति पुगेको छ र हाम्रो नगरमा पनि यसको  प्रभाव पर्ने स्पष्ट देखिन्छ । त्यसैले यसले पार्ने क्षेतिको पुर्ताल र नगरलाई पुरानै अवस्थामा फर्काउनको लागि  पनि पुर्नलाभ अन्तरगत गर्नुपर्ने कार्यको योजना बनाएर काम गरिरहेका छौ ।

संक्रमण नियन्त्रण तथा रोकथामको लागि स्थानीय राजनितिक दल, पेसाकर्मी, सुरक्षाकर्मी विभिन्न सामाजिक संघ संस्थासंग  समन्वयकारी भुमिका चाही कसरी निर्वाहा गर्दै आउनुभएको छ?
–       यो धेरै महत्वपुर्ण कुरा हो । । जब देश कलडाउनको अवस्थामा गयो । त्यतिबेला एकाएक सबै संयन्त्र अवरुद्ध बन्यो र पुरै देश ठप्प जस्तै थियो । त्यस्तो अवस्थामा पनि हामीले सिमित कर्मचारी र जनप्रतिनिधिहरुको मद्दतबाट नेपाल सरकार र प्रदेश सरकारको निर्देशन अनुसार काम गर्दै आएका थियौं । तर पछिल्लो अवस्थामा स्थानीय राजनितिक दल, विभिन्न संघ संस्थासंग र पेसाकर्मीसंग पनि समन्वय गरेर काम हुदै आएको छ । सबैले आआफनो ठाउबाट सक्दो सहयोग पनि  गरिनै रहनुभएको छ । सबै पक्षसंगको आपसी छलफल र सल्लाहामा नै नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि काम अघि बढाउदै आएको र हालसम्मको यो सफलता हात पारेको हो ।

लकडाउन प्रभावकारी हुन नसकेको भन्ने बारेमा के भन्न चाहानुहुन्छ? यसलाई थप प्रभावकारी तुल्याउन के गर्नुपर्ला?
–      तपाईले भने जस्तो चाही अलि होइन । निजगढमा लकडाउन प्रभावकारी रुपमा नै कार्यान्वयन भइरहेको छ । यसको  लागि जनपथ सशस्त्र र ट्राफिक प्रहरीको संयुक्त टोली सक्रिय छ । यो  विषयमा निजगगढमा बाहिरबाट प्रवेश गर्ने मान्छेको बारेमा हामी बढी सचेत हुन जरुरी छ, जस्तो मलाई लाग्छ । त्यसैले निजगढ प्रवेश गर्ने मुख्य नाका जस्तै तामागढी, डम्बरपुर, बकैयाको मोहोरी, सिगौलको पिपलटार र पुर्वमा भमरा÷धन्सार क्षेत्रको नाकामा निगरानी बढाइएको छ । उक्त क्षेत्रबाट निजगढ प्रवेश गर्ने मान्छेको चेकजाचको लागि तामागढीस्थित जिल्ला ट्राफिक कार्यलयको चेकिङ्ग प्वाइन्ट र रतनपुरका स्वास्थ्यकर्मीलाई १÷१ वटा थर्मल गनको व्यवस्था गरिएको छ । यसक्रममा बाहिरबाट आएका मानिसहरुमा रुघाखोकीे ज्वरो वा अन्य लक्षण पाइएमा उनीहरुलाई सिधै क्वारिन्टाइनमा पठाउने सामान्य अवस्थामा भए केही दिनसम्म घरमै एकान्तबासमा बस्ने सल्लाहासहित परिवारको जिम्मा लगाएर पठाउने गरिएको छ ।

खाद्यान्न लगायतका  उपभोग्य सामाग्रीको किनबेच र ढुवानीको लागि समय तालिका लगायत अन्य कुराको कस्तो व्यवस्था गर्दै आउनुभएको छ?
–         खाद्यन्न तथा औषधिको सहज आपुर्ति व्यवस्था मिलाउन हामीले व्यापारीलाई शुरुका दिनदेखि नै अपिल गर्दै आएका छौ । त्यसको लागि पहिले औषधि र खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्ममात्र खोल्न सकिने समय निर्धारण गरिएको थियो । तर केही मान्छेहरुले उक्त समयको दुरुपयोग गरेकोे पाइएपछि हाल बिहान ९ बजेसम्ममात्र पसल खोल्ने समय निर्धारण गरिएको छ ।  त्यसैगरी खाद्यन्न वितरण कार्यलाई अझ सहज र प्रभावकारी बनाउनको लागि व्यवसायीहरुलाई पासको  व्यवस्था गरिएको छ । पास लिएकाले पसलबाट नै सामान बेच्नु पर्छ भन्ने छैन । उपभोक्तासंग अर्डर लिने र ढुवानीका साधनमार्फत घरघरमा डेलिभरी पनि गर्न सकिन्छ । यसले पसल तथा बजारमा अनावश्यक भिडभाड कम हुने र कोरोना रोकथाम नियन्त्रणमा टेवा पुग्ने हामीले महशुरु गरेका छौ । त्यसैले अर्डर अनुसारको प्याकिङ्ग गरेर होम डेलिभरीमार्फत दैनिक उपभोग्य  सामाग्री खरिद बिक्रीको प्रवन्ध गर्न म फेरि पनि व्यवसायीसंग आग्रह गर्न चाहान्छु । त्यसैगरी पसलमै गएर खरिद गर्नुपर्ने खण्डमा पनि विश्वस्वास्थ्य संघठनको मापदण्ड अनुसार १ मिटरको दुरी राखेर पालैपालो खरिद बिक्री गर्ने, अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र साबुन पानीले हात धोएरमात्र सामान किनबेच गर्ने व्यवस्था मिलाएका छौ ।

लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुलाई समस्या पर्न थालेको छ । उनीहरुको राहतको लागि नगरपालिकाले के सोच्दै छ?
–             यो अर्को मार्मिक र महत्वपुर्ण प्रश्न हो । लकडाउनले श्रमिक विपन्न वर्गका मानिसहरुको राजिरोटीमा संकट उत्पन्न भएको छ । उहाँहरुमाथि परेको अप्ठ्यारो हामीले बुझेका छौ र नगरपालिकाले गम्भिर बनेर काम गरिरहेको छ । तर यो विषयमा विगतका दिनहरुलाई पनि एकपटक सम्झनुपर्छ भन्ने मलाई लागेको छ । बिगतमा पनि नेपालमा महिनौंसम्म बन्द÷हडताल हुने गरेको थियो । तर त्यतिबेला राहतको विषय कहिलै उठेन ।  अहिले हामीले राहतको प्रवन्ध गर्दैछौं । यो एकदम राम्रो कुरा हो । तर राहत भन्दा  पहिले आफनो स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने बारेमा चनाखो हुन जरुरी छ । त्यसैले नगरपालिकाले पहिलो फेजमा रोकथामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हो । र अहिले हामी राहत वितरणतर्फ केन्द्रीत भएका छौ । यसको लागि संघीय र प्रदेश सरकारले पनि मापदण्ड बनाएर पठाएको छ र हामीले पनि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकबाट छुट्टै मापदण्ड बनाएर वितरण गर्ने तयारी गरेका छौं । वडा स्तरमा वडा अध्यक्ष ज्युहरुको संयोजकत्वमा गठन भएको समितिमार्फत प्राप्त नामावली नगर कार्यपालिकाको बैठकमा छलफल गरेर पारदर्शीरुपमा वितरण गर्ने योजना छ । जसअनुसार लक्षित वर्गको घरघरमा पुगेर राहत सामाग्री प्रदान गर्ने तयारी पुरा भइसकेको छ ।  त्यसैगरी राहत वितरणको नाममा अहिले कतिपय स्थानमा देखिएको विकृति विसंगति र समस्या दोहोरिन नदिनेतर्फ पनि हामी उत्तिकै सचेत र सजग रहेकाछौ ।

राहतको नाममा दलगत भेदभाव गरिने सामाजिक संजालमा फोटो हाल्नेको लागि मात्र वितरण गर्ने भन्ने जस्ता गुनासा पनि सुनिने गरेको यसप्रति निजगढ नगरपालिका कत्तिको सचेत छ?
–             यस सन्दर्भमा हामीले सबै वडामा रहेको सर्वदलिय, सर्वपक्षिय समितिलाई कार्यविधि बनाएर दिएका छौं । समितिमा दलहरुका प्रतिनिधि, शिक्षा, स्वास्थ्यका र सुरक्षा निकायका प्रतिनिधि रहने र कार्यविधिअनुसार वितरण गर्नुपर्ने भएको हुनाले भेदभाव हुने कुरा शंभव छैन । त्यसमाथि पनि मैले छुट्टै परिपत्र (निर्देशन) पनि गरेको छु । त्यसैगरी अनियमितता भएको पाइए सम्बन्धित दोषिमाथि कारवाही गरिने कुरा पनि उल्लेख छ । यस्तो अवस्थामा समितिले विभेदरहित तरिकाले वास्तविक पिडितलाईमात्र राहत वितरण गर्ने र राहत वितरणमा अनियमितता हुने कुरा हुनसक्दैन । 

नगरपालिकाले १ करोड २ लाख बराबरको विपद व्यवस्थापन कोष खडा गरेको छ । विभिन्न व्यक्ति र संघ सस्थालाई सहयोगको आह्वान गरिएको छ । दाताको सम्मान गर्ने कुरा पनि भनिएको छ । तर कोषमा बाहिरबाट रकम जम्मा भएको छैन । किन यस्तोभएको होला?
–             यसकोलागि केही व्यवसायी र  विदेशमा रहेका साथीहरुले चासो देखाइरहनुभएको छ । तर लकडाउनको कारण रकम जम्मा गर्न केही समस्या र जटिलता उत्पन्न भएको छ । यस्तो अवस्थामा धेरै रकम आउला भन्ने आशा गर्ने ठाउ पनि छैन । तर पनि केही रकम जम्मा हुने क्रम शुरु हुन्छ भन्नेमा म विश्वस्त छु । साथै, फेरि पनि के आह्वान गर्न चाहान्छु भने यो कोषमा जम्मा भएको रकम कुनै व्यक्ति विषेशले पाउने हैन । यो अहिले र पछि पनि निजगढबासी जनतामा पर्नसक्ने विपतमा सहयोग गर्नको लागि बनाइएको कोष हो । हाल कोराना भाइरस रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न र लकडाउनबाट अप्ठेरोमा परेकाहरुलाई राहत दिने कार्यमा प्रयोग गरिन भएकोले गच्छेअनुसार सहयोग गर्नुपर्छ भन्ने मलाई लागेको छ । कोषमा बचेको रकम आगामी दिनमा यस्तै विपतमा खर्च गरिने छ । यो कोष नगद तथा वस्तुगत दुबै किसिमले सहयोग गर्न सकिने छ । यसरी तपाईहरुले  दिएको सहयोगको कुनै पनि अवस्थामा दुरुपयोग र हिनामिना हुने छैन । यो कुरामा पनि म सबैलाई आश्वस्त  पार्न चाहान्छु । त्यसैले सहयोगको लागि देश विदेशमा रहनुभएका सबैसंग पुन हार्दिक अनुरोध गर्दछु ।

नगरपालिकासंग कोरोना भाइरसको नियन्त्रण रोकथामको लागि पर्याप्त सामाग्री छैन । यस्तो अवस्थामा संघीय र प्रदेश सरकारसंग तपाईको के  अपेक्षा छ?
–             निजगढमामात्र हैन अहिले देश भरी नै सामाग्रीको अभाव छ । आवश्यक सामाग्री सहयोगको लागि संघीय र प्रदेश सरकारसंग बारम्बार अनुरोध गर्दै आएका छौ । तर विदेशबाट मगाउनु पर्ने कारणले त्यो संभव भएको छैन । हामी आफैले पनि व्यवसायीहरुसंग सम्पर्क गरेर आवश्यक सामाग्री खरिद गर्ने पक्षमा छौ । तर अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन । यसको लागि सरकारले यथोचित व्यवस्था गर्न जरुरी छ । त्यसैगरी प्रदेश र संघीय सरकारसंग म अर्को के कुरा पनि अनुरोध गर्न चाहान्छु भने अहिले जसरी प्रदेश स्तरीय अस्पतालहरु खोलिएका छन । यो पर्याप्त छैन । यसलाई विस्तार गरेर हरेक जिल्लामा एउटा कोराना अस्पताल खोल्नुपर्ने देखिन्छ । र हरेक पालिकामा आवश्यक स्वास्थ्य  सामाग्री र उपकरण उपलब्ध गराउन पनि प्रदेश र संघीय सरकारसंग माग गर्न चाहान्छु ।

अन्त्यमा, कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि अपनाउनुपर्ने शावधानी बारेमा निजगढबासी जनतालाई तपाई के भन्न चाहानुहुुन्छ? –           
  म सबै भन्दा पहिला विश्वव्यापी प्रकोपको रुपमा रहेको यो संक्रमण रोकथाम नियन्त्रणको लागि पहिलो पङ्गतिमा उभिएर रातदिन नभनी खटनु हुने हाम्रो नगरपालिकका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुलाई धन्यवाद दिन चाहान्छु । त्यसैगरी नगरपालिकका कर्मचारी, जनप्रनिधि, सामाजिक संघसस्था, राजनितिक दलका कार्यकर्ता सबै नै धन्यवादका पात्र हुनुहुन्छ । रोगले सानो÷ठुलो, धनी÷गरिव  भनेर हेर्दैन । जुनसुकै बेला जसलाई पनि लाग्न सक्छ । यो हामी सबैको साझा समस्या हो भनेर बुझन जरुरी छ । हालसम्म कुनै औषधि  उपचारको पत्ता नलागेको अवस्थामा यसको संक्रमणबाट जोगिने सबै भन्दा प्रभावकारी उपाय भनेको लकडाउन नै हो । भिडभाड नगरी घरमै बसेर मात्र यो रोगलाई जित्न सकिन्छ । तसर्थ, ‘आफु पनि बाचौं अरुलाई पनि बचाऔं ।’ भन्ने मान्यतका आधारमा लकडाउन पुर्ण कार्यन्वयनको लागि सहयोग गर्न म निजगढबासी सम्पुर्ण आमा, बुबा, दाजुभाई दिदी बहिनहरुसंग हार्दिक अनुरोध गर्न चाहान्छु । त्यसैगरी सिमति स्रोत साधनको प्रयोग गरेर हामीले जसरी निजगढलाई सुरक्षित पार्ने काम गर्दै आएका छौं । यसमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद पनि दिन चाहान्छु ।
–             धन्यवाद।