निजगढ । बाराको निजगढ नगरपालिका कार्यालयले नै निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उल्लंघन गरेको छ । आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा एमाले निजगढ नगर कमिटीले दोषिमाथि कारबाहीको माग गरेर बिहीवार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको निर्देशनमा निजगढ नगरपालिका कार्यालयले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित पार्न निवर्तमान मेयर तथा हाल गठबन्धनबाट मेयर पदका प्रत्यासीलाई सुरेशकुमार खनालको चुनाव प्रचारमा सघाउ पुग्ने गरि कार्यालयको आधिकारिक फेसबुक पेज र प्रोफाइमा बिहिवार दिउसो भिडियो अपलोड गरेको थियो ।

धेरै पहिल्यै तयार पारिएको तर सार्वजनिक नगरिएको वृत्तचित्र निजगढ नगरपालिकाको आधिकारिक फेसबुक पेज तथा प्रोफाइल दुबैबाट सार्वजनिक गरेर कार्यालयले आचारसंहिता उल्लंघन गरेको हो ।

निजगढ नगरपालिकाबाटै निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उल्लंघन भएपछि निजगढ नेकपा एमालेले निर्वाचन आयोगको कार्यालय निजगढमा उजुरी दर्ता गराएको छ । एमाले निजगढ नगर कमिटीका उपसचिव थानेश्वर सापकोटाले दिनुभएको उजुरीमा निर्वाचनको मुखमा निजगढ नगरपालिकाबाटनै मतदाता प्रभावित हुनेगरी गठबन्धनबाट मेयर प्रत्यासी खनाललाई सघाउने नियतले सार्वजनिक गरिएको भिडियो अभिलम्व हटाउन र नियोजित रुपमा भिडियो सार्वजनिक गराउने कार्यमा संलग्न प्रमुख प्रशासकीय अधिकृत कार्कीलगायतलाई निर्वाचन आचारसंहिता अलंघन गरेको अभियोगमा कारबाही गर्न पनि माग गरिएको छ ।

यसैबीच निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले भिडियो हटाउन निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई निदेशन दिएपछि हाल निजगढ नगरपालिकाले सो भिडियो राति ८ बजे सामाजिक संजालबाट हटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय