निजगढ । सामाजिक उत्तरदायित्व, सामूहिक श्रम र श्रम संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति बाराले निजगढ नगरपालिका–४ स्थित ऐतिहासिक पर्वतनाथ शिव मन्दिर परिसरमा सरसफाइ तथा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ।
श्रम संस्कृति पार्टीका जिल्ला सचिव राजेश शाहीको नेतृत्वमा सम्पन्न कार्यक्रममा २५ जना श्रमदाताको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले मन्दिर परिसरमा सरसफाइ गर्दै सामूहिक श्रमदानमार्फत सामाजिक सेवाको सन्देश दिएका छन्।


निजगढको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको पर्वतनाथ शिव मन्दिर परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले श्रमलाई सम्मान गर्दै समाजप्रतिको आफ्नो जिम्मेवारी व्यवहारमै प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालनका लागि मन्दिर परिसर प्रयोग गर्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हंसराज कुँवरले अनुमति प्रदान गरेका थिए। सरसफाइ कार्यक्रमपछि अध्यक्ष कुँवरले श्रम संस्कृति पार्टीले गरेको सामाजिक कार्यप्रति आभार व्यक्त गर्दै खुसी प्रकट गरे।
उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा श्रममूलक गतिविधिमा सहयोग र सहकार्य गर्न आफू सकारात्मक रहेको बताउँदै पार्टीलाई यस्ता रचनात्मक अभियान निरन्तर सञ्चालन गर्न शुभकामना दिएका थिए।
देशभर विस्तार हुँदै श्रमदान अभियान
श्रमलाई सम्मान गर्ने, सामाजिक सेवाको भावना विकास गर्ने र सामूहिक सहभागितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित श्रम संस्कृति पार्टीले देशका विभिन्न स्थानमा श्रमदान अभियान सञ्चालन गर्दै आएको छ।
पार्टीका अध्यक्ष हर्कराज साम्पाङको नेतृत्व र पहलमा अघि बढेको श्रम संस्कृतिको अभियानले पछिल्लो समय देशव्यापी रूपमा चर्चा पाउँदै आएको छ। श्रम संस्कृति पार्टीको अवधारणाले विकास र सामाजिक परिवर्तनका लागि सरकार तथा सम्बन्धित निकायको मुख ताक्नेमात्र नभई नागरिक आफैँ पनि श्रममा सहभागी हुनुपर्ने सन्देश प्रवाह गर्दै आएको छ।
हर्क साम्पाङ धरान उपमहानगरपालिकाको प्रमुख रहँदा पनि विभिन्न विकास निर्माण तथा सार्वजनिक सरोकारका काममा आफैँ श्रमदानमा सहभागी हुने गरेका थिए। धरानमा खानेपानी व्यवस्थापनका लागि श्रमदान अभियान, सरसफाइ तथा सार्वजनिक संरचना निर्माणजस्ता गतिविधिमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
यही श्रम संस्कृतिको अवधारणालाई संस्थागत गर्दै पार्टीले विभिन्न जिल्ला तथा स्थानीय तहमा श्रमदान र सामाजिक सेवाका कार्यक्रम विस्तार गरिरहेको छ।
श्रमदानबाट सामाजिक परिवर्तनको सन्देश
निजगढमा आयोजित पर्वतनाथ शिव मन्दिर सरसफाइ कार्यक्रमले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा समुदायको सहभागिता कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।
सार्वजनिक सम्पत्ति र धार्मिक स्थलको संरक्षण केवल स्थानीय सरकार वा व्यवस्थापन समितिको जिम्मेवारी नभई नागरिकको पनि साझा दायित्व भएको सहभागीहरूको भनाइ छ।
समाज परिवर्तनका लागि भाषण र नारामात्र पर्याप्त नहुने भन्दै व्यवहारमै श्रम, सेवा र सामूहिक सहभागिताको संस्कृति विकास गर्नुपर्नेमा श्रम संस्कृति पार्टीले जोड दिएको छ।
पार्टीको जिल्ला कार्यसमितिले आगामी दिनमा पनि बाराका विभिन्न स्थानमा सरसफाइ, श्रमदान तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

