काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्त भइकामध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् ।

वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई चैत २८ बाट एक साता सुरक्षा तालिम दिएर जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको छ । तिनैमध्ये सिन्धुपाल्चोकमा दुर्गासिं बस्नेत र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा परी ज्यान गएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार बाकेका जसबहादुर रोकाको हुम्लामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

मन्त्रिपरिषद्ले आइतबार निर्वाचन सुरक्षामा खटिँदा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आत्महत्या गर्नेका हकमा भने यो राहत नदिइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कामको सिलसिलामा म्यादी प्रहरी घाइते भए सरकारले निःशुल्क उपचार गर्नेछ ।
प्रहरी प्रवक्ता केसीले मादक पदार्थ सेवन, सामाजिक सञ्जाल दुरुपयोग, तोकिएको समयमा अनुपस्थित जस्ता आरोपमा ४८ जनालाई जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय