निजगढ नगरपालिकामा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगबाट स्वीकृत मतदाता शिक्षा विशेष कार्यक्रम अन्तर्गत एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
निर्वाचन सम्पर्क व्यक्ति तथा नगरपालिकाका योजना अधिकृत जीवन गौतमको अध्यक्षतामा आयोजित कार्यक्रम शुक्रबार निजगढ नगर कार्यपालिकाको कार्यालयको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि १३ सम्मका मतदाता शिक्षा स्वयंसेवकहरूको सहभागिता रहेको थियो।


अभिमुखीकरण कार्यक्रममा निर्वाचन प्रक्रियाबारे जानकारी, मतदाताको अधिकार र कर्तव्य, मतदान गर्ने सही तरिका तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।
योजना अधिकृत गौतमको अनुसार वडा नम्बर १ देखि १३ सम्मका मतदाता शिक्षा स्वयंसेवकहरूले २०८२ साल फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म आ–आफ्नो वडामा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन्। स्वयंसेवकहरूले मतदाता सचेतना फैलाउने, मतदान प्रक्रियाबारे जानकारी दिने, मतदानको दिन के–के लैजानुपर्ने जानकारी, मत बदर हुनबाट जोगाउने उपाय सिकाउने, समावेशी सहभागिता सुनिश्चित गर्ने, अफवाह र गलत सूचना विरुद्ध सचेत गराउने, घरदैलो तथा सामूहिक अन्तरक्रिया, निर्वाचन आचारसंहिता पालनाबारे जानकारी, मतदानमा सहभागिता बढाउन प्रेरणा, प्रतिवेदन तथा समन्वय लगायतको वडामा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन्।
निर्वाचनमा नागरिकको सचेत र सक्रिय सहभागिता सुनिश्चित गर्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।



