निजगढमा डेङ्गु रोगको सङ्क्रमण दिन प्रतिदिन बढेसँगै बुधवार निजगढमा सचेतना अभियान सञ्चालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय, निजगढको परिसरबाट बिहान शुरू गरिएको अभियान राजमार्गको बुद्धचोकसम्म पुगेर सचेतना फैलाइएको थियो ।  कार्यक्रममा नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, इप्रका, निजगढका प्रहरी निरीक्षक सञ्जीव ओली, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत समाजसेवी, बुद्धिजीवी, नागरिक, सञ्चारकर्मीको सहभागिता थियो ।

डेङ्गु रोगबाट नगरवासी जोगिन सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै यदि कोही कसैलाई डेङ्गुको लक्षण र समस्या देखिए नगरपालिका स्वास्थ्य शाखासँग समन्वय गर्न नगरप्रमुख पुरी र उपप्रमुख थिङले बताए । जताततै डेङ्गु सङ्क्रमणका बिरामी बढेको भन्दै नगरवासीहरू आफैं समयमैं सचेत रहनुपर्ने उनीहरूको भनाइ थियो ।

 

डेङ्गु रोग एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने भएकोले प्रायः बिहान र साँझको समयमा त्यस्ता लामखुट्टे बढी सक्रिय हुने गरेको, यस लामखुट्टे रहन सक्ने स्थानको  खोजी, पहिचान गरी यसका लार्भाहरूलाई नष्ट गर्नुपर्ने अन्यथा यसको टोकाइबाट समाजमा महामारीको रूप पनि लिन सक्ने स्वास्थ्य विज्ञ एवं चिकित्सकहरूको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने भएकोले घरआँगन, करेसाबारी, गमला, साइकल, मोटरसाइकल, स्कूटी, कार, जीप वा अन्य सवारीसाधनका त्यत्तिकै राखिएका टायरहरूमा जमेको पानीमा यस प्रजातिको लामखुट्टे र यसको लार्भा अत्यधिक हुन सक्ने भएकोले समुदाय मिलेर नष्ट गर्नुपर्ने स्वास्थ्यविज्ञ एवं स्वास्थ्यकर्मीहरू बताउँछन् । मानिसको चहलपहल हुने स्थानहरूमा विशेष किसिमको सरसफाइ गर्नुपर्ने सो अभियानमा सहभागी निजगढका स्वास्थ्यकर्मीहरूले जानकारी गराएका थिए ।

निजगढमा हालसम्म डेङ्गु रोगका २२ जना बिरामी फेला परे पनि उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको निजगढ नगर स्वास्थ्य शाखाका संयोजक स्वास्थ्यकर्मी रमेश लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय