निजगढ सामुदायिक अस्पतालको नयाँ कार्यसमिति चयनको लागि आगामी जेष्ठ १५ गते मदान हुने भएको छ । साधारण सभाको बन्द सत्रका संयोजनक अम्बिकाप्रसाद चौलागाईले १५ गते मतदान मार्फत संचालक समितिको नयाँ पादाधिकारी चयन हुने जानकारी दिनुभयो ।
गत सोमवार भएको साधारण सभाको बन्द सत्रमा सहमति हुन नसेकेपछि अस्पताल संचालक समितिको नयाँ पदाधिकारी चयन कार्य अन्यौलमा परेको थियो । साधारण सभाको बन्द सत्रमा संचालक समितिको नयाँ नेतृत्व चयन गर्ने कार्य सूचि रहेको भएपनि सहमति हुन नसकेपछि बन्द सत्र स्थगित भएको थियो । सहमतिको प्रयास गर्न भनेर यसअघि भएको छलफलमा पनि कुनै सहमति हुन नसकेपछि प्रतक्ष्य निर्वाचन हुन लागेको हो ।
९ सदस्यीय कार्यसमितिको लागि अध्यक्षमा माधव न्यौपाने, ज्ञानेन्द्र चौलागाई र बिदुरलाल श्रेष्ठले उम्मेदवारी दिएका छन भने उपाध्यक्ष पदमा सावित्री भारती र गशेण राजभण्डारीको मनोनयन पत्र दर्ता भएको छ । त्यस्तै समितिको सचिवमा कैलाश केसी र चन्दन धामी, कोषाध्यक्ष जानुका अधिकारी र भाइकाजी श्रेष्ठले दाबी गरेका छन ।
त्यसैगरी ४ सदस्यीय सदस्य पदको लागि रामकुमार शर्मा दहाल, मुकुन्द पौडेल, निर्मला आचार्य र सिता रिसाल, परशुराम भण्डारी, किरण श्रेष्ठ, सीता मैनाली, गीता चौलागाई, गोविन्द खरेल लगायतको उम्मेदवारी परेको छ । सहसचिवमा भने सरिता राई एकजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरुबीच छलफल गरेर सहमतिमा समिति गठन गर्ने प्रयास जारी राखिएको बन्द सत्रका अध्यक्ष मण्डलका संयोजक अम्बिका चौलागाईले जानकारी दिनुभयो ।
नयाँ समिति चयनको लागि बन्द सत्रबाट चौलागाईको संयोजकत्वमा ३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । सामुदायिक अस्पतालको २४औं साधारण सभाको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धघाटन गर्नुभएको थियो ।