केही दिन यता बढेको गर्मीका कारण बारामा धमाधम सामुदायिक विद्यालयहरु बन्द गर्न थालिएको छ ।
निजगढ नगरपालिकाले २ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। केहिदिन यता बढेको गर्मीलाई मध्यनजर गरेर निजगढ नगरपालिकाले २ दिनको लागी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
गर्मिका कारण विद्यार्थीहरु पढ्नमा रुची नदेखाउने, घर र्फकने समयमा घाम चर्किसक्ने भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने, कक्षा कोठामा पंखा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको भवनमा जस्तापाताको छानो भएको लगायतका समस्यालाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको निजगढ नगरपालिकाको एक जनप्रतिनिधिले जनाएका छन् ।
निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम लामिछानेले हिजो जारी गरेको सूचनामा केही दिनदेखि यस क्षेत्रमा बढदै गएको अत्याधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन कार्यमा असहज हुनगइ बालबालिकाको स्वास्थ्यमा समेत पर्न सक्ने असहज प्रभावलाई मध्यनजर गर्दै नगर शिक्षा समितिको बैठकको निर्णयअनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक र सस्थागत विद्यालयमा जेष्ठ १८ र १९ गते पठनपाठन बन्द गरिएको जनाइएको छ । ‘अत्याधिक गर्मी बढेर पठन पाठनको वातावरण नै नबने अवस्था आयो ।
त्यसैले हामीले विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर आईतबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सामुदायिक संगै संस्थागत विद्यालयहरुलाई पनि पत्राचार गरेका छौं ।’ निजगढ नगरपालिकामा २७ वटा सामुदायिक र ५ वटा भन्दा बढी नीजि विद्यालय छन् ।