निजगढमा आजबाट आयोजना गर्न लागिएको राष्ट्र–शान्ति ज्ञान–महायज्ञको सम्पूर्ण तयारी पुरा भएको यज्ञ आयोजक समितिले जानकारी दिएको छ ।

राष्ट्र शान्ति सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले हिजो पत्रकार सम्मेलनको आयोजना गरेर यज्ञको तयारी बारे जानकारी दिएको हो । निजगढ ९ स्थित सामुदायिक अस्पताल टोलमा रहेको मानव धर्म समाजको जमिनमा आश्रम निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महायज्ञको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले आज बिहान उद्धाटन गर्ने कार्यक्रम निर्धारण भएको समितिका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । त्यसअघि आज नै मुख्यमन्त्री यादव र प्रतिनिधि सभा सदस्य मैनालीले आश्रमको शिल्यान्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष चौलागाईले बताउनुभयो ।

पत्रकार सम्मेलनमा यज्ञ आयोजक मुल समितिका महासचिव राजन बरालले १० वर्षअघि देशभरिका भक्तजनहरुले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट खरिद गरेको ५ कठ्ठा जमिनमा हाल सुविधा सम्पन्न आश्रम निर्माण गर्न लागिएको र यसबाट निजगढ क्षेत्रको प्रतिष्ठा वृद्धि हुने भएकोले सहयोगको लागि नगरबासी सबैमा आग्रह गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा मुल समितिका सदस्यहरु रामकुमार शर्मा, अञ्जु नेपाली, बासुदेव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । निजगढ शहीद चोकको पुरानो दाल मिलको प्राङ्गणमा आयोजना गरिने महायज्ञको पहिलो दिन आज कलश यात्रा निकालिने र भोलिबाट आचार्य राघव उपाध्यायव्दारा संगितमय कथा वाचन हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय