बाराको निजगढ नगरपालिकाले विरामीको घरघरमै पुगेर सेवा उपलब्ध गराउने भएको छ । ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम मार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिने योजना सुरु गरेको हो ।

कार्यक्रम बारे जानकारी दिने उद्देश्यले हिजो निजगढ नगरपालिका कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो कार्यक्रम बारे जानकारी दिइएको हो । कार्यक्रममा ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेकाहरुले यो सेवा पाउने छन । कार्यक्रम बारे जानकारी दिदै निजगढ नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर विरामीहरुको पहिचान गर्ने र रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच गरिने जानकारी दिनुभयो ।

कार्यक्रम संचालन भएपछि विरामीहरुको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिने घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रमअन्तर्गत विरामीहरुलाई परामर्श सेवा, पोषण सेवा र स्वास्थ्य प्रबद्र्धधनको लागि सामुहिक सचेतना कार्यक्रम पनि संचालन गरिने उहाँले जानकारी दिनुभएको छ । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाको अध्यक्षतमा भएको सो अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख सुरथ पुरीले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमान्दारिताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख पुरीले जनताको स्वास्थ्य सुरक्षाको लागि राज्यले पनि ठूलो धनराशी खर्च गर्दैआएको बताउदै लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले नगरबासीलाई स्वस्थ र निरोगी बनाउन नगरपालिकाले ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम संचलन गरेको जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बारा प्रमुख रामनरेश यादवले स्वास्थ्य क्षेत्रमा निजगढ नगरपालिकाले अनुकरणीय कार्यको थालनी गरेको बताउनुभयो । उहाँले कार्यक्रम सफल पार्न आफ्नोतर्फबाट पनि सकेको सहयोग उपलब्ध गराउने सुनाउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर लामालगायतले कार्यक्रमको महत्व बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय