जीतलाल श्रेष्ठ, निजगढ, १५ पुस/
आन्तरिक पर्यटन र पिकनिक मनाउन सकिने स्थलको रूपमा परिचित निजगढस्थित मोहोरीमा अहिलेसम्म विकासको उज्यालो पुग्न सकेको छैन । नेपाली वा अङ्ग्रेजी नयाँ वर्षलगायत विभिन्न खुशीयालीसँगै चुनावी जितेपछि पिकनिक खेल्ने समूहको बाक्लै भीड हुने गरे पनि पिकनिकस्थल बनाउन कसैले पहल गरेको छैन ।

उत्तर र दक्षिण चुरे पहाड, पूर्व फास्ट ट्रयाक र पश्चिम बकैया खोलाले घेरिएको खुला फाँट भएको मोहोरी पिकनिक स्थलका लागि सार्‍है उपयुक्त देखिन्छ ।
निजगढ राजमार्गबाट झन्डै ७ किलोमिटर उत्तर र नजिकैको बस्तीबाट दुई किलोमिटर पर १० हेक्टरभन्दा बढी क्षेत्रफल भएको मोहोरी चउरलाई व्यवस्थित गर्ने हो भने पिकनिक मनाउन उत्तम स्थल हुन सक्छ । तराई (मधेस) र काठमाडौं जोड्न उक्त स्थान भएर फास्ट ट्रयाकको बाटो खुलेपछि यस स्थानको महत्त्व झनै बढेको छ । गर्मी याममा बतास चल्ने, नजिकैको लालबकैया खोलामा पौडी खेल्न सकिने, जाडोमा बिहानै घाम लाग्ने र मोबाइल फोनका लागि एनटिसी, एनसेल, स्र्माट, युटिएलको टावर सजिलै टिप्ने भएकोले पनि यो क्षेत्रलाई पिकनिकस्थलको रूपमा विकास गर्न सके निजगढको महत्त्व झनै बढ्ने नेपाल रेडक्रस सोसाइटी निजगढका सभापति कृष्णप्रसाद खरेल बताउँछन् । मोहोरीलाई व्यवस्थित पिकनिकस्थल बनाउन सके टाढाटाढाबाट पनि मानिस आउने, जसले निजगढको महत्त्व बढ्ने स्थानीय युवा केशव सापकोटा र सुदिप तिमल्सिाना बताउँछन् ।


वर्षौंदेखि मोहोरीमा पिकनिक खेल्न जाने चलन रहे पनि यसको विकास गर्न कसैले अग्रसरता लिएको छैन । चुरेको खोल्सी, मूलबाट पाइपद्वारा मोहोरीसम्म खानेपानी ल्याउने कामबाहेक पिकनिकस्थलका लागि चाहिने आवश्यक अन्य कुनै कार्य भएको छैन । नयाँ वर्ष, तिहार, स्कूलको रिजल्ट भएपछि यस स्थानमा पिकनिक खानेहरूको दर्जनौं समूह पुग्छ ।
फास्ट ट्रयाक, नजिकैको डुमरवाना टाँगियाबस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलपछि निजगढ र आसपासका गाविसको महत्त्व झनै बढ्को छ । जसले गर्दा केही वर्षमा नैं निजगढ र आसपासका रतनपुरी, भरतगंजसिगौल घनाबस्तीमा परिणत हुने देखिएको छ । त्यसैले आधुनिक बस्तीतर्फ निजगढसँगै आसपासका बस्तीलाई अघि बढाउन सार्वजनिक खुला स्थानको पहिचानसँगै संरक्षण जरुरी हुन्छ ।
घनाबस्तीसँगै शहर उन्मुख गाविसका लागि उच्च मावि, विश्वविद्यालय, खेल मैदान, मनोरञ्जनका स्थान, साना—ठूला सभा, आमसभाका लागि खुला स्थानको पनि आवश्यकता पर्छ । बढ्दो बस्ती व्यवस्ीित बनाउन बेलैमा मापदण्ड नतोक्ने हो भने, केही वर्षभित्रै निजगढले सास्ती खेप्नुपर्ने टडकारो देखिएको छ । त्यसैले बढ्दो व्यस्त जीवनलाई केही समय भए पनि तनावमुक्त पार्नका लागि मनोरञ्जनका स्थलहरूको पनि विकास जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय