निजगढ नगरपालिका वडा नम्बर– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्तिको तयारी पुरा भएको छ ।

विद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी माघ १० गते हुने स्वर्ण जयन्ति महोत्सवको तयारीको बारेमा जानकारी दिइएको हो । विद्यालय स्थापनाको ५०औं वर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव आयोजना गर्न लागिएको र सोको सम्पूर्ण तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा रहेको विद्यालयको शैक्षिक गुणस्तर र प्रतिष्ठा अभिवृद्धिमा महोत्सव फलदायी हुने बताउनुभयो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले साताव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको जानकारी दिनुभयो । प्रअ झाले यसक्रममा विद्यालयले सरसफाइ, खेलकुद प्रतियोगिता, दलित छात्रछात्रालाई न्यानो कपडा र विद्यालय झोला वितरणलगायतको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । स्वर्णजयन्तिको अवसरमा विद्यालयका संस्थापक, स्थापक सहयोगी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, विविसका पूर्वसदस्य, विद्यालयका पूर्वप्रधानाध्यापक, छात्रवृत्ति कोषका संचालक, राज्यको महत्वपूर्ण ओहोदामा पुगेका र शिक्षा, स्वास्थ्य, खेलकुद, कला र पत्रकारिता क्षेत्रमा योगदान दिने विद्यालयका पूर्वविद्यार्थी, २० वर्ष विद्यालयमा सेवा गर्ने शिक्षक कर्मचारी, विद्यालयमा अंग्रेजी माध्यमको कक्षा संचालन गर्न योगदान गर्नेहरुलाई सम्मानित गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटाले बताउनुभयो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दिपक सापकोटालगायत संघका सदस्य र विविसका सदस्यहरुको उपस्थिति रहेको थियो । स्वर्ण महोत्सवको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुहुने बताइएको छ ।

यसैबीच सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत हिजो नै विद्यालयका १ सय ४७ जना दलित छात्रछात्रालाई न्यानो कपडा स्वीटर र स्कुल ब्याग वितरण गरिएको थियो । जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटाले विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय