निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटार स्थित धनसार सिँचाई आयोजनामा पक्की बाँध र कुलो निर्माण कार्य सुरु भएकोछ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को मधेस प्रदेश सरकारको विनियोजित बजेटबाट धनसार सिँचाईको बाँध र पक्की कुलो निर्माण थालिएको हो । सिँचाई आयोजना अन्तर्गत ३ सय मिटर लामो सो कुलो मधेस प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकममा निर्माण हुनलागेको हो । सिँचाई आयोजना अन्तर्गत पक्की कुलोसंगै व्यवस्थित सिँचाईको लागि पक्की बाँधको समेत निर्माण कार्य शुरु भएको छ । सिंगौलमा धनसार सिँचाई कुलोमा पक्की कुलो र व्यवस्थित बाँध नहुँदा वर्षौदेखि स्थानीय किसानले सिँचाईको समस्या बेहोर्दै आएका छन ।

‘किसानहरुको समस्या हल गर्न पक्की सिँचाई आयोजना निर्माण सुरु गरिएको हो, निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाले भन्नुभयो, मधेस सरकारले बजेट विनियोजन गरेपछि आयोजनाको काम धमाधम सुरु भएको छ ।’ वडा अध्यक्ष तिमल्सिनाले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थलगत निरीक्षण गरेर योजनाको लागि बजेट व्यवस्था गर्न सहयोग गर्नुभएको जानकारी दिनुभयो । सोही बजेटबाट हाल धनसार सिँचाईमा पक्की कुलो र व्यवस्थित पक्की बाँध निर्माण भइरहेको हो । पक्की बाँध र सिँचाई कुलो निर्माण भएपछि सिंगौलमा नियमित रुपमा सिँचाई सुविधा प्राप्त हुने र कृषि उत्पादनमा समेत वृद्धि हुने स्थानीय किसानहरुको विश्वास छ ।

त्यस्तै मधेस सरकारले सिँचाईको कुलो र बाँधसगै धनसार खोलाले पिपलटारको खेती योग्य जमिन वर्षेनी कटान गरी बस्ती नै जोखिममा पारेपछि आर्थिक वर्ष २०८०÷०८१ मा २० लाख बजेट विनियोजन गरेर सो खोलामा सुरु गरिएको च्यानालाइट ड्यामको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको धनसार खोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष टुलकु लामा दोङले बताउनुभएको छ । मधेस सरकारले सिंगौलको विकासमा सहयोग प्रदान गर्दैआएको बताउदै वडा अध्यक्ष तिमल्सिनाले मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा साविक भरतगंजसिगौल गाविसको वडा नम्बर ८ निर्माण शुरु गरिएको खेल मैदानको निर्माण कार्य पनि ६५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय