निजगढ नगरपालिकाले दादुरा–रुबेला खोपको ५ दिने अभियान आगामी २० गतेबाट सञ्चालन गर्नेभएको छ ।

दादुरा रुबेला खोप अभियान २०८०÷०८१ अन्तर्गत आइतवार निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा सो बारेमा जानकारी दिइएको हो ।

अभियानका क्रममा ९ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालिकाहरूलाई अनिवार्य रुपमा दादुरा–रुबेला खोप निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले जानकारी दिनुभयो । उहाँले अभियान अन्तरगत नियमित प्रकृयामा खोप लगाउन छुटेका र लगाएका सबै बालबालिकालाई खोप लगाईने बताउनुभयो ।

खोप अभियानको अवधिमा नगरपालिकाले विभिन्न खोप केन्द्रमार्फत करिब १३ हजार ३ सय ९ बालबालिकालाई खोप लगाईने उहाँले बताउनुभयो । शाखा प्रमुख लामाले सामुदायिक र संस्थागत विद्यालयसहित स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र संचालन गरिने पनि जानकारी दिनुभयो ।

अभियान प्रभावकारी रुपमा सफल पार्न नगरपालिकाभित्र २६ जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षकहरुसमेत गरी करिव १ सय जनालाई परिचालन गरिने भएको छ ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक प्रिन्स तिवारी र नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरे अभियानको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले खोपको प्रयोगबाट शरीरको प्रतिरोधी क्षमता वृद्धि हुनेभएकोले स्वस्थ र निरोगी जीवनको लागि खोप लगाउन जरुरी भएको बताउनुभएको थियो । उहाँले अभियानलाई सफल पार्न सबैको सहयोग जरुरी भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय