निजगढ नगरपालिकाले आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयको सघन अनुगमन कार्य जारी राखेको छ । नगर स्तरीय शैक्षिक सुधार कार्यदलले सेवा क्षेत्र भित्रका विद्यालयको सघन अनुगमन गरी थप शैक्षिक सुधारका लागि योजना बनाउन अनुगमन थालेको कार्यदल संयोजक तथा नगर उपप्रमुख सोममाया थिङले बताउनुभयो ।

हिजो कार्यदलले निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको पनि अनुगमन गरेको छ । कार्यदल संयोजक थिङको नेतृत्वमा आएको टोलीले विद्यालयको विद्यार्थी संख्या, शिक्षक उपस्थिति, विद्यालयको शैक्षिक गतिविधि, भौतिक अवस्था, शैक्षिक सामग्री तथा त्यसको प्रयोग लगायतका विषयमा अनुगमन गरी जानकारी लिएको छ । कार्यदललाई विद्यालयको समग्र अवस्थाबारे यथार्थ जानकारी दिएको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताउनुभयो ।

विद्यालयल शैक्षिक सुधारका लागि प्रतिबद्धताका साथ लागिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले विद्यालयका विभिन्न समस्या समाधानका लागि समेत सरोकारवालालाई आग्रह गरेको बताउनुभयो । आफुहरुले विद्यालयको समग्र पक्षको बारेमा जानकारी लिएको भन्दै यसकै आधारमा आगामी योजना तयार गरिने उपप्रमुख थिङको भनाई छ । सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय सुधारोन्मुख रहेको भन्दै थप सुधार गर्न विद्यालय लाग्नुपर्ने र आवश्यक सहयोगको लागि नगरपालिका पनि लाग्ने उहाँको भनाई छ ।

अनुगमन टोलीमा निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछाने, कार्यदल सदस्यहरु सुदर्शन कोईराला, हस्तबहादुर लामा, वडा अध्यक्ष टेकबहादुर लामा, ज्ञानबहादुर गोले, मुकुन्द विष्ट, पूर्ववडा अध्यक्ष रामजीप्रसाद बजगाई, नगर-उपप्रमुख सचिवालय पेमामाया लामा लगायतको सहभागिता रहेको थियो । यसैबीच सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले स्थानीय समाजसेवी घनश्याम लम्सालको संयोजकत्वमा एकबहादुर श्रेष्ठ, रामजीप्रसाद बजगाई र अनुप थापामागर सदस्य रहेको विद्यालय सल्लाहकार समिति गठन गरेको छ ।

यसैगरी विव्यस सदस्य हरेन्द्र साह रौनियारको संयोजकत्वमा गुनासो सुनुवाई समिति पनि गठन गरेको छ । विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालासंग छलफल सहित नगरपालिकामा मागपत्र पेश गर्ने निर्णय पनि बैठकले गरेको व्यवस्थापन समितिका अध्यक्ष हरीप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय