निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वनमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

कछडिया सामुदायिक वन क्षेत्र अन्तर्गत बकैया खोला किनारको झाडीमा वयस्क पोथी बाघ हिजो मृत फेला परेको सब डिभिजन वन कार्यालय तामागढीले जनाएको छ । स्थानीयवासीले बाघ मरेको देखेपछि वन कार्यालयमा खबर गरेको सब डिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिनुभयो ।

मरेको केही दिन भएकोले कुहिएर गन्हाएको अवस्थामा बाघ फेला परेको हो । वन अधिकृत भगतले चार–पाँचदिन अगाडि नै मरेको हुन सक्ने अनुमान गर्नुभएको छ । उहाँले सो बाघ करिब आठ÷१० वर्षको हुनसक्ने पनि जानकारी दिनुभयो । भगतका अनुसार बाघको मृत्युको कारण भने खुलिसकेको छैन । ‘परीक्षणको लागि पठाइएको छ, उहाँले भन्नुभयो, रिपोर्ट प्राप्त भएपछि मात्रै कारण पत्ता लाग्छ ।’ योसँगै पछिल्लो एक महिनाभित्र बारा जिल्लामा मात्रै ४ वटा बाघ मरिसकेका छन् । यसअघि बाराको अमलेखगन्जमा पनि एउटा बाघ मृत अवस्थामा फेला परेको थियो ।

त्यसैगरी एक महिनाअघि पनि निजगढ ४ स्थित बाघ भैरव सामुदायिक वन क्षेत्रको जंगलमा एउटा चितुवा मृत अवस्थामा भेटिएको थियो । पछिल्लो १ महिनाको अवधिमा पर्सा जिल्लामा पनि २ वटा बाघ मृत अवस्थामा फेला परेका थिए । पछिल्लो समयमा बाघले दिनदिनै किसानले पालेको चौपाय मारेर खान थालेपछि यतिबेला पूरै गाउँ त्रसित भएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय