निजगढ नगरपालिकाको नगर सभाले निजगढ नगरपालिका खेलकूद विधेयक, २०८० सर्वसम्मतिले पास गरेको छ । निजगढ नगरपालिकाको हिजो भएको नगर सभाको तेह्रौं अधिवेशनको बैठकमा नगर प्रमुख सुृरथ पुरीले पेस गर्नुभएको खेलकुद विधेयक सर्वसम्मतिले पास गरेको हो ।

नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको हिउँदे अधिवेशनको बैठकमा नगर उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य राख्नुभएको थियो । अधिवेशनमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को फाल्गुन मसान्तसम्म कार्यान्वयन भएका बार्षिक योजना तथा कार्यक्रमहरुको समिक्षा तथा प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।

निजगढ नगरपालिकाका उपप्रमुख थिङले चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत केही बार्षिक योजना तथा कार्यक्रममा संशोधन तथा हेरफेरका लागि पेश गर्नुभएको थियो । बैठकमा पेश भएका विधेयक तथा प्रस्तावहरुको निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना र वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटाले समर्थन गर्नुभएको थियो । नगर सभामा पेश भएका विधेयक एवं चालु आर्थिक वर्ष २०८०/०८१ को केही वार्षिक योजना तथा कार्यक्रमको संशोधन तथा विविध प्रस्तावहरु नगर सभासदस्यहरुले सर्वसम्मतीमा पारित गरेका थिए ।

नगर प्रमुख एवं सभाध्यक्ष पुरीले विधेयकको संशोधन एवं नगर सभा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका विधेयक समिति, नगर कार्यपालिकाका सदस्यहरु, नगर सभा सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरु एवं कर्मचारीहरुलाई धन्यवाद दिदै निजगढ नगरपालिकाको चालु तेह्रौं अधिवेशनको अन्त्य गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय