निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले निजगढ ८ को शहिद चोकमा डेरी पसल संचालनमा ल्याएको छ ।

सहकारीले सोमबार संस्थाको २८ औं वार्षिकोत्सवको अवसर पारेर बिक्री केन्द्र संचालनमा ल्याएको हो । प्रधानमन्त्री आधुनिकीकरण परियोजना बाराका प्रमुख प्रदीप ठाकुरले बिक्री केन्द्रको उद्धाटन गर्नुभएको थियो । सहकारीले उपभोक्ताहरुलाई आफ्नो उत्पादन सुपथ मूल्यमा बिक्री गर्ने उद्देश्यले बिक्री केन्द्र संचालनमा ल्याएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले जानकारी दिनुभयो । पसलमा गाई, भैसीको दुध, दही, पनिर, ध्यु, नौनी, खुवा, मोही लगायतका दुधजन्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने उहाँले बताउनुभयो ।

ग्राहकहरुले पसलबाट अगामी जेष्ठ महिनासम्मका लागि ५ प्रतिशत छुटमा सहकारीबाट उत्पादित सामग्रीहरु खरिद गर्नसक्ने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ८ का अध्यक्ष स्वर्ण लामा, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइराला, भेटेनरी अस्पताल तथा पशु विकास केन्द्र बाराकी सूचना अधिकारी आर्या जोसी, निजगढ नगरपालिका पशु शाखा प्रमुख युगलकिशोर सिंह, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, महासिचव गोविन्द न्यौपाने, सहकारी सञ्जाल निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, गौरीशंकर मावि निजगढ ८ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौला लगायत स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बिक्री केन्द्रको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

देशकै अग्रणी दुध उत्पादक सहकारीको रुपमा रहेको बागदेव डेरीले आफ्नो उद्योगमार्फत दैनिक ५ सयदेखि १ हजार लिटर दुधबाट विभिन्न खाद्य सामग्रीको उत्पादन गर्दैआएको छ । करिव २ हजार ५ सय पशुपालक किसान आवद्ध सो सहकारीले निजगढका विभिन्न १४ वटा संकलन केन्द्रमार्फत दैनिक १५ हजार लिटर दुध संकलन गदैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय