अवकास पाएका स्वर्यसेविकाको सम्मानसहित निजगढ नगरपालिकाले हिजो २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
दिवसको अवसरमा नगरपालिका कार्यालयले नगरका विभिन्न वडामा कार्यरत ३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरेको हो । नगर प्रमुख सुरथ पुरीले उनीहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । हरेक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा डिसेम्बर ५ तारिखमा मनाइने यो दिवस निजगढ नगरपालिकाले पनि मनाएको हो ।
‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सिमित स्रोत साधन र परिश्रमिकका बाबजुद महिला स्वयंसेविकाहरुले उल्लेखनीय कार्य गर्दैआएको बताउनुभएको थियो । कार्यक्रममा उपप्रमुख सोममाया थिङले गाउँगाउँमा बसेर जनताको सेवा गर्ने स्वयं सेविकाहरु नै देशको सच्चा स्वयमं सेवकको रुपमा रहेको बताउनुभयो ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायत नगरपालिकका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थित रहेको थियो । महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पु¥याउने उद्देश्यले वि.सं २०४५ सालदेखि यो कार्यक्रम शुरू भएको हो ।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।