निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको १८औं बार्षिकोत्सव कार्यक्रम हिजो सम्पन्न भएको छ । आगामी पुष २० गते हुने क्याम्पस सभाको पनि हिजो नै उद्धाटन गरिएको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले बार्षिकोत्सव र क्याम्पस सभाको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका सांसद मैनालीले उच्च शिक्षा लिने विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले समय सापेक्ष रुपमा क्याम्पसको विधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक अवस्थाको प्रतिवेदन पेस गर्दै क्याम्पस प्रमुख टिकाराम भट्टराईले क्याम्पसले बेहोर्नु परेका समस्या बारेमा जानकारी गराउनुभएको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशकी सभासद मिना लामा, निजगढ नगर उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरका पूर्वप्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेबी लामिछाने खनाल, क्याम्पसका प्राध्यापक डा. मायानाथ घिमिरे, निजगढ खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सुदर्शन कोइराला, गौरीशंकर माविका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद उपाध्याय, समाजसेवी शम्भुबहादुर बुढाथोकी, क्याम्पस व्यवस्थापन समितिका सल्लाहाकार बेनीबहादुर मोक्तान, पूर्वविद्यार्थी समाजका संयोजक केदार खरेल, नेपाली कांग्रेस नगर सभापती नवराज तिमल्सिना, माओवादी केन्द्रका सन्तोष दङ्गाल, रास्वपा निजगढका सभापती रामहरी खरेल, राप्रपाका नगर अध्यक्ष खडगप्रसाद उप्रेती, जनमत पार्टीका मोजहर मन्सुर, नेकपा एकिकृत समाजवादीका भिमसेन सापकोटा, विद्यार्थी प्रतिनिधि किसान खडकालगायतले क्याम्पसको अवस्थाको बारेमा बोलेका थिए ।
शिक्षक सागर दहालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा लेखापाल दिपक श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रमको क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्रलाई पुरस्कार पनि वितरण गरिएको थियो ।