तराईमा चिसो अत्यधिक रुपमा बढेको छ । चिसोले तराईका पर्सा, रौतहट, सर्लाही, महोत्तरी जस्तै बारामा पनि जनजिवन कष्टकर र प्रभावित भएपछि बाराको निजगढ नगरपालिकाले ३ दिन विद्यालय विदा दिने निर्णय गरेको छ ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगरले जनाएको छ ।
शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा विद्यालय जाने बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित भएकाछन् ।
‘चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न असहज एवंम कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस नगरपालिका क्षेत्र भित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८१/०९/२४ गतेदेखि २०८१/०९०/२६ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ,’ नगरद्वारा प्रकाशित सूचनामा उल्लेख छ । नगरले हालको मौसमलाई मध्यनजर गर्दै सो सुचना प्रकाशित गरेको हो ।