नगरबासीको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले निजगढ नगरपालिकाले संचालन गर्दैआएको ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गता भएकासंग निजगढ नगर’ कार्यक्रमको नगर प्रमुख सुरथ पुरीसहितको टोलीले हिजो घर-घरमा पुगेर स्वास्थ्य परिक्षण गरेका छन ।
नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक प्रीन्स तिवारी, विकास लामा, निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, कार्यक्रमका फोकल पर्शन मणिश्वर घिमिरे सम्मिलित टोलीले निजगढ नगरपालिका वडा नम्बर ८ को खयरघारी र वडा नम्बर ६ सडकटोल चोकका बिमारीको घरमा पुगेर कार्यक्रमको अनुगमन गरेको हो । अनुगमनको क्रममा नगर प्रमुख पुरीले बिरामीहरुलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै प्रभावकारी सेवा संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव पनि दिनुभएको थियो ।
यसअघि आइतवार पनि नगर प्रमुख पुरीले निजगढ वडा नम्बर १, २ र ३ र उपप्रमुख थिङ्ग र प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले वडा नम्बर १२ र १३ का विभिन्न बस्तिमा पुगेर कार्यक्रमको अनुगमन र बिरामीसंग भेटघाट गरेका थिए । कार्यक्रम अन्तर्गत वडामा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलीले प्रतेक महिना आफ्नो वडामा रहेका लक्षित समूहका बिरामीहरुको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र औषधि सेवा समेत प्रदान गर्दैआएको छ । महिनाको एक पटक बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने र अवस्था जटिल भएका बिरामीहरु फेला परे भने चिकित्सकलाई बोलाएर घरमै आवश्यक उपचार र परामर्श सेवा पनि दिइने कार्यक्रमका फोकल पर्शन मणिश्वर घिमिरेले जानकारी दिनुभयो ।
यसको लागि प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सकहरुको टोली परिचालन गर्ने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षबाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत पहिचान गरिएका बिरामीहरुको रक्तचाप, मधुमेह र पिसावको परीक्षणको साथै परामर्श तथा औषधि सेवा प्रदान गर्नेगरिएको छ । यो कार्यक्रमबाट नगरपालिकाका २ हजार ६ सय ५० जना जेष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरु लाभान्वित हुदैआएको घिमिरेले जानकारी दिनुभयो ।