भारतको कालिङ्गपुङ्गमा भएको अन्तर्राष्ट्रिय स्तरको तेक्वाण्डो प्रतियोगितामा स्वर्ण पदक विजेता निजगढ नगरपालिका वडा नम्बर ६ का १० वर्षिय रुवेल तिमल्सिनालाई ६ नम्बर वडा कार्यालयले हिजो नगद पुरस्कारसहित सम्मान गरेको छ ।
वडा नम्बर ६ को कार्यालयमा भएको कार्यक्रमा वडा अध्यक्ष घनश्याम तिमल्सिनाले रुबेललाई ५ हजार ५ नगद राशीसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । कार्यक्रममा वडा कार्यालयका सचिव सुजित कर्ण, वडा सदस्यहरु केशव अधिकारी, आशा श्रेष्ठ, मिना सुनार, कृष्णबहादुर मोक्तन, रुबेलका बुबा कमल, हजुरआमा होमकुमारी, पूर्ववडा सदस्य रामप्रसाद हुँमागाईलगायतको उपस्थिति रहेको थियो ।
निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोल निवासी कमलप्रसाद तिमल्सिनाका १० वर्षिय छोरा रुबेलले गत महिना भएको दोस्रो कालिङ्गपोङ्ग अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपको २२ केजी तौल समुहमा नेपालको तर्फबाट स्वर्ण पदक जितेका थिए ।
गौरीशंकर मावि सडकटोलको कक्षा ५ मा अध्ययनरत रुबेल निजगढ ९ को जनज्योति तेक्वाण्डो डोजाङ्गका खेलाडी हुन । वडा फरक क्षमता भएकाहरुलाई यस्तै हौसाला स्वरुप सम्मान गरिरहने वडा अध्यक्ष घनश्याम तिमल्सिनाले निजगढ डटकमलाई बताए ।