
नेपाल तामाङ धेदुङ बाराले यस वर्षको सोनाम ल्होछार पर्व (नयाँ वर्ष) माघ २६ गतेका दिन मनाउने भएको छ ।
तामाङ समुदायको राष्ट्रिय सोनाम ल्होछार २८६१ डुल (पुख्री) ल्होछार मूल समारोह समितिले हिजो निजगढमा पत्रकार सम्मेलन आयोजना गरी तामाङ सांस्कृतिक महोत्सवको रुपमा ल्होछार पर्व मनाउने जानकारी दिएको हो । सोनाम ल्होछार पर्वलाई नेपाल तामाङ घेदुङ निजगढलगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा धेदुङले ल्होछारलाई विशेष तामाङ सांस्कृतिक महोत्सवका रुपमा मनाउँदै आएको छ । यस वर्ष पर्वको मुख्य दिन (माघ १७ गते) परेको भएपनि निजगढमा भने केहि दिन ढिलो गरेर मनाइन लागिएको हो । निजगढ नगरपालिका वडा नम्बर १० लालमा १०ः३० बजे निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ल्होछार कार्यक्रम उद्धाटन गर्ने कार्यक्रम छ ।
औपचारिक कार्यक्रमअघि बुद्ध चोकबाट सांस्कृतिक ¥याली, झाँकीसहित गाउँका विभिन्न स्थान परिक्रमा गरिनेछ पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तामाङ्ग ल्होछारमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी ल्होछारमा तामाङ समुदायको विशेष खानाको परिकार, तामाङ भेषभुषा, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिनेछ ।
विगत ३६ वर्षदेखि भव्य र उल्लासमय वातावरणमा मनाउँदै आएको नेपालमा सोनाम ल्होछार पर्वलाई यस वर्ष अझ भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य लिइएको ल्होछार मूल समारोह समिति संयोजक एंव निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यघलानले बताउनुभयो ।