
निजगढ ९ मा रहेको गौरीशंकर क्याम्पसमा बारा जिल्लामै पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । चैत ५ गते हुने निर्वाचनका लागि सोमबार ३ वटा विद्यार्थी संगठनले दर्ता गरेकाछन ।
केन्द्रीय अनुगमन तथा समन्वय समितिको कार्यतालिका वमोजिम एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले संगठन दर्ता गराएका छन् ।
संगठन दर्ता गराउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट गौरीशंकर क्याम्पस कमिटीका अध्यक्ष बालकृष्ण हुमगाईको नेतृत्वमा, नेपाल विद्यार्थी संघबाट गौरीशंकर क्याम्पस कमिटीका सभापति दावा लामाको नेतृत्वमा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) गौरीशंकर क्याम्पस कमिटीका अध्यक्ष उज्वल प्रसाईको नेतृत्वमा संगठन दर्ता गराएका हुन ।
निर्वाचन कार्यलयमा अनेरास्ववियुले पहिलो नम्बरमा, नेविसंघले दोस्रो नम्बर र क्रान्तिकारीले तेस्रो नम्बरमा संगठन दर्ता गराएका हुन् । केन्द्रीय अनुगमन तथा समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका संगठन मात्रै स्ववियु निर्वाचनमा सहभागी हुन सक्नेछन् । केन्द्रीय अनुगमन तथा समन्वय समितिले सोमबार बिहान ८बजे देखि दिउसो ३ बजेसम्मका लागि संघ, संगठन, समूह दर्ताका लागि समय तोकेको थियो ।
निर्वाचनमा सहभागी हुने मतदाताको नामावली टुंगिन बाँकी छ । निर्वाचन अधिकृत गोविन्द अधिकारीले मतदाताको नामावली टुंगिन बाँकी रहेको निजगढ डटकमलाई बताए । स्नातक तहदेखि माथिका छात्रछात्रा निर्वाचनमा सहभागी हुन पाउनेछन् । उक्त क्याम्पसमा स्नातक तहदेखि माथि चार सय ६८ छात्रछात्रा छन् ।