
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आजदेखि शुरु हुन गइरहेको २०८१ सालको एसइइ परीक्षामा निजगढ नगरपालिकाबाट सहभागी हुने पालिकाका विद्यार्थीलाई सफलताको शुभकामना दिनुभएको छ । नगर प्रमुख पुरीले हिजो निजगढ नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट भिडियो मन्तव्य सार्वजनिक गर्दै परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी हुने विद्यार्थीहरुको लागि शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले परीक्षा मर्यादित र भयरहित वातावणमा संचालन गर्न केन्द्राध्यक्ष र सुरक्षाकर्मीहरुसंग आग्रह पनि गर्नुभएको छ ।
यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाका ५ सय ६८ जना विद्यार्थी सहभागी हुनेभएका छन । निजगढमा रहेका ८ सामुदायिक र २ संस्थागत गरी १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुन लागेका हुन । निजगढमा एसईई परीक्षाको लागि यस वर्ष पनि निजगढ ८ को गौरीशंकर मावि र निजगढ ६ को गौरीशंकर मावि सडकटोल परीक्षा केन्द्र कायम गरिएको छ । निजगढ ८ को परीक्षा केन्द्रमा सार्वजनिक मावि बागदेव, गौरीशंकर मावि सडकटोल, नेत्रोदय मावि योजना, बकैया ठाकुर मावि, नेरामावि सिगौल र होली एञ्जल्स बोडिङ्ग स्कुलबाट २५५ जना परीक्षार्थी विद्यार्थीहरु सहभागी हुने गौरीशंकर मावि निजगढ ८ का केन्द्राध्यक्ष बद्रीनारायण झाले जानकारी दिनुभयो ।
त्यसैगरी सडकटोल परीक्षा केन्द्रमा भने गौरीशंकर मावि निजगढ ८, नेरामावि लाल, नेरामावि रतनपुर र विद्यासागर बोडिङ्ग स्कुलका ३१३ जना परीक्षार्थी रहेका छन । यो केन्द्रमा यादवकुमार तिमल्सिनालाई केन्द्राध्यक्ष तोकिनुभएको छ ।