शैक्षिक सुधारको लागि दीर्घकालिन रणनीति तयार पार्ने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित श्रीसत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा हिजोबाट दुईदिने योजना तर्जुमा कार्यशाला गोष्ठी शुरु भएको छ ।

सरोकारवालाहरुको सहभागितामा दीर्घकालिन योजना बनाएर विद्यालयको पठनपाठनमा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले योजना तर्जुमा गोष्ठी आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले बताउनुभयो । उहाँका अनुसार विद्यालयका अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थीहरुको सहभागितामा आइतवार पहिलो दिन भएको गोष्ठीका सहभागी ५० जना सरोकारवालाहरुले आआफ्नो सुझाव प्रस्तुत गरेका थिए । उहाँका अनुसार प्रतेक समूहमा विद्यालयको शैक्षिक सुधारको लागि १३ वटा बुँदामा सहभागीहरुसंग सुझाव माग गरिएको थियो । ‘सहभागीहरुसंग नमूना विद्यालय निर्माण गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरुको भूमिका कस्तो हुनुपर्छ भनेर सुझाव माग गरिएको प्रअ स्वर्णकारले जानकारी दिनुभयो ।

‘समूहबाट आएका सुझावलाई संकलन गरेर विद्यालय सुधारको लागि दीर्घकालिन योजना तयार पारिने छ ।’ उहाँले भन्नुभयो । कार्यक्रमको सहजीकरण निजगढस्थित गौरीशंकर क्याम्पसका प्राध्यापक डा. मायानाथ घिमिरेले गर्नुभएको थियो । समूहमा संकलन गरिएको सुझाव विद्यालय व्यवस्थापन समिति समूहबाट विविस सदस्यहरू हरेन्द्र साह रौनियार, शिक्षक अभिभावक संघबाट पुरण सिंह योजञ्जन, अभिभावकहरुको समूहबाट सुशिला कार्कीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमअन्तर्गत आज विद्यालयका शिक्षक र विद्यार्थीहरुबाट सुझाव संकलन गरिने बताइएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्न पछिल्लो समय विद्यालय गर्दैआएको प्रयास स्वरुप हाल विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको र परीक्षफल पनि उत्कृष्ट रहेको सुशिला कार्कीले बताउनुभयो ।

४ वर्षअघि अर्को विद्यालयमा गाँभिने अवस्थामा पुगेको सो विद्यालयमा हाल विद्यार्थी संख्या बढ्दै गएको छ । विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा ८ को निजगढ नगरपालिका स्तरीय वार्षिक परीक्षामा सीकाइ उपलब्धीको आधारमा सबैभन्दा बढी अंकका साथ निजगढ नगरमा नै पहिलो स्थान हासिल गर्न सफल बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय